चामुण्डा देवी ठान - सालडाँडाको ऐतिहासिक धरोहर, धार्मिक आस्थाको केन्द्र
चामुण्डा देवी ठान, सालडाँडा - ऐतिहासिक अवलोकन र वर्तमान अवस्था
सालडाँडा गाउँमा अवस्थित चामुण्डा देवी ठान सालडाँडाको समृद्ध सांस्कृतिक धरोहर र ऐतिहासिक महत्त्वको प्रतीक हो। 28°02'47.2"N 83°56'52.0"E अक्षांशमा यस ठानको स्थापना विक्रम संवत् १९३० मा भएको थियो र यो आजसम्म स्ठानीय जनताको श्रद्धा र विश्वासको केन्द्र बनेको छ।
ऐतिहासिक स्थापना
तत्कालिन नेपाली सेनामा कार्यरत जमदार भगवान रानाले गोर्खा सेनामा देखाएको बिरताको उच्च मुल्यांकन तथा कदर गर्दै तत्कालिन सरकारले लाल मोहर (श्री ५ सरकार र श्री ३ सरकारले प्रदान गरेको सरकारी कामकाजको लागि प्रयोग गरिने रातो छाप) प्रदान गरी जमदार भगवान रानालाई जिम्माल र मुखियाको पद दिएको थियो।
तत्कालीन सरकारबाट लाल मोहर प्राप्त गरी जिम्माल र मुखियाको पद लिएर आएका तत्कालिन नेपाली सेनाका जमदार श्री भगवान राना (सर्बजित रानाको नाती भुवन रानाको सुपुत्र) ले काठमाडौँबाट ल्याई मल्याङ फाँटमा देवी ठानको गुठीको खेत छुट्याएर हाल हटिया नेवार बस्तीमा रहेको चामुण्डा देविको ठान स्थापना गर्नुभएको थियो।
सालडाँडाको चामुण्डा देवीको ठान अहिले उत्तरी हट्टियामा अवस्थित छ। यसको ऐतिहासिक प्रमाण ठानमा रहेका घण्टीहरूमा लिखित रूपमा देख्न सकिन्छ। यस ठानको स्थापना विक्रम संवत् १९३० मा भएको थियो।
पाँच सामाजिक कार्यहरू
लालमोहर प्राप्त गरिसकेपछि पाँचवटा सामाजिक कार्य गर्नुपर्ने भएकोले उहाँले गर्नुभएका कार्यहरू यसप्रकार छन्:
- एउटा घुमाउने चौतारा बनायो, चौतारा सँगै एउटा पोखरी पनि बनाउनुभएको थियो। जहाँ पछिल्लो समय सो स्ठान पनि व्यक्तिगत नाममा लाल पुर्जा प्राप्त गरी घर बनाई बसेको पाइन्छ। भने, अर्को सुन पोखरी र सुनपोखरी सँगै चौतारा निर्माण गर्यो भने हाल सो स्ठानमा श्री भोजप्रकाश स्कुल रहेको छ।
- दोस्रो एउटा ठाँती बनायो जहाँ पछी ठाडा मुखियाले घर बनाउनुभएको थियो। र पछिल्लो समय सो स्ठान पनि व्यक्तिगत नाममा लाल पुर्जा प्राप्त गरी घर बनाई बसेको पाइन्छ।
- तेस्रो थाँती नजिकै पोखरी पनि बनाउनुभएको थियो। र त्यहाँ अहिले हुलाक कार्यालय स्थापना भएको छ। थाँती नजिकै सानो ठान पनि रहेको छ र त्यहाँ आँपको रुखमा चौतारा रहेको छ।
- चौथो अर्को सालघारी निर्माण बनाउनुभएको थियो। र सो सालघारीको भोगचलन पञ्चायतकालसम्म ज्ञ्यान्द्रिस रानाथारको जिम्माल र मुखियाले गर्दै आएको थियो। अहिले श्री भोज प्रकाश माध्यमिक विद्यालयको अधिनमा रहेको छ।
- पाँचौंमा चमुण्डा देवी ठान मल्याङ फाँटमा देवी ठानको गुठीको खेत छुट्याएर स्थापना गर्नुभएको थियो
हाल हटिया नेवार बस्तीमा रहेको चामुण्डा देविको ठान नेपालबाट (हालको राजधानी काठमाडौँ बाट) ल्याई सबैलाई पाएक पर्ने भनि त्येतिबेलाको चौबाटो तथा मुलबाटोमा लगेर चामुण्डा देविको ठानको स्थापना गराएका थिए । जुन ठान अहिले उत्तरी हट्टियामा अबस्थित रहेको छ । जसलाई नै सालडाँडाको चामुण्डा देविको ठानका रूपमा लिन सकिन्छ । जसको प्रमाण ठानमा रहेका घण्टीहरूमा लिखित रूपमा देख्न सकिन्छ । जसलाई आधार मान्ने हो भने पनि यो ठानको स्थापना विक्रम संवत् १९३० मा स्थापना भएको थियो । जनसङ्ख्या वृद्धि संगै तथा सडक निर्माण बिस्तार संगै ठानको परिसर साँगुरिदै गईरहेको छ।


ठानको वास्तुकला र विकासक्रम
प्रारम्भिक निर्माण
विक्रम संवत् १९३० मा स्थापना भएको चामुण्डा देवी ठानको भवन सुरुमा ढुङ्गाको गारो र छानो भएको प्राकृतिक, मौलिक, प्राचीन, परम्परागत र ऐतिहासिक संरचना थियो।
२०४२ सालको पुनर्निर्माण
विक्रम संवत् २०४२ सालमा क्याप्टेन रामप्रसाद रानाको अध्यक्षतामा सो भवनलाई सिमेन्ट प्रयोग गरी पुनर्निर्माण गरियो।
२०५४ सालको विकास
विक्रम संवत् २०५४ सालमा बद्री बहादुर मानन्धरले आफ्नै खर्चमा ठान परिसरमा ढलानको व्यवस्था गरेका थिए भने तत्कालीन अवस्थाको ठानको बाहिरी गेट र ठानको फलामको गेट पनि निर्माण गराएका थिए।
२०७५ मा देवी ठानको पुनर्निर्माण
हरिनास गाँउपालिका, स्ठानीय व्यक्तिहरू एवम् स्ठानिय संस्थाहरूको आर्थिक सहयोगमा मन्दिर चोक युवा क्लबको नेतृत्वमा ब्रिक्रम संम्बत् २०७५ मा देवी ठानको पुनर्निर्माण गरी ब्रिक्रम संम्बत् २०७५ साल चैत्र ३० गते चैते दशैंका दिन विशेष अवसर पारेर यस ठानको एक कार्यक्रम बिच नयाँ भवनको उद्घाटन गरिएको थियो।
पूजा विधि, परम्परा र बलि प्रथा
यस चामुण्डा देवी ठानमा राँगो, पाठा, कुखुरा, हाँस र परेवाको पञ्चबलि दिने गरिन्छ। स्ठानीय मानिसहरूले आफ्नो भाकल गर्दछन् र आफ्नो भाकल पूरा भएपछि देवीलाई पञ्चवली दिने गरिन्छ।
विशेष गरी दशैंको नवमीको दिन र चैत्र दशैं (राम नवमी) को दिन पञ्चबलि दिइन्छ। यतिमात्र होइन, अन्य छुटपुट विशेष दिनहरूमा पनि पूजा अर्चना गर्ने चलन छ।
चामुण्डा देवी ठानको पुजारी र परम्परा
चामुण्डा देवी ठानको पुजारीहरू मगर समुदायका मगर पूजारीहरू (एउटा वृद्ध पाको मूल पुजारी र एउटा १२ वर्ष मुनिको कन्य केटा पुजारी गरी दुईजना पुजारी रहने गर्दछन् जसले मण्डली ठान र बाजेबराजुको पूजा पनि गर्ने गर्दछन्। मण्डली ठान र बाजेबराजुको पूजाको लागि हरेक महिनाको पहिलो शुक्रबारमा धार दिने गरिन्छ। उही दुई पुजारीहरू द्वारा झाँक्री ठानको पनि पूजा गर्ने गरिन्छ।) ले पूजा गर्ने गर्दथे पुर्खादेखि चल्दै आएको रित अनुसार राना थरका मगरहरूले कुनै व्यक्तिको आफ्नो भाकल बाहेक र विशेष पूजा बाहेक वर्षमा दुईचोटि दशैंको नवमीको दिन र राम नवमीको दिन दुईपटक गरिने पञ्चवली पूजामा ज्ञ्यान्द्रिस मगरहरूले आफ्नै ज्ञ्यान्द्रिस पुजारीले पुजा गर्ने गर्दछन् ।
केही समय अगाडिसम्म ज्ञ्यान्द्रिस मगरहरूले दशैंको नवमीको दिन र राम नवमीको दिन आफ्नो प्रीतिहरूलाई सम्झिएर चामुण्डा देवीको पूजा नगरेसम्म अरु कुनै पनि पूजा तथा पञ्चबलि पूजा हुँदैन थियो। केही अघिल्लो पुस्ताहरूको आन्तरिक विवादको कारणले गर्दाखेरि चमुण्डा देवी ठानको रेखदेख गर्न सकेनन् तर, पछिल्लो समयमा ठानको रेखदेख सानो हाट्टियाका नेवार समुदाय र मन्दिर चोक युवा क्लबले गर्ने हुँदाखेरि अन्य पूजा र पञ्चवलीको लागी नेवार समुदायका पुजारी रहने गर्दछन्। र उनीहरूले दशैंको अष्टमीको दिनै रागाको बलि दिएर पूजा गर्ने गर्दछन्।
मौलिक, परम्परागत संरचना संरक्षणको चुनौती र भविष्यको आवश्यकता
प्राचीन कालमा पुर्खाहरूले चामुण्डा देवी ठानको प्राकृतिक, मौलिक, परम्परागत संरचना रुपमा निर्माण गरे पनि अहिले मानिसहरूले यसलाई आधुनिक शैलीमा ठानको रूपमा परिणत गरिसकेका छन्। एउटा चिन्ताजनक पक्ष भनेको भवनहरू पुरातात्विक विभागको नियम विपरित प्राकृतिक, मौलिक, परम्परागत संरचना जस्ता पुरातात्विक विशेषताहरू नष्ट हुने गरी निर्माण भएको पाइन्छ।
यस्तो अवस्थामा अन्य ठान तथा ठानहरू पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक महत्त्व र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिनु जरुरी छ। यसो गर्न सकियो भने हाम्रो प्राचीन सभ्यता, मौलिकता र ऐतिहासिक धरोहरहरूको लोप रोक्न सकिने विश्वास गरिन्छ।