जनकवि गोकुल जोशी: जन्मदेखि मृत्युसम्मको अभाव, विद्रोह र अमर काव्ययात्रा

Gokul Joshi Photosketch

जनकवि गोकुल जोशी: क्रान्तिको स्वर, भोकको कविता र नेपाली चेतनाका अग्रदूत

नेपाली साहित्यका "जनकवि जुरेली" गोकुल जोशी (वि.सं. १९८७–२०१८) निरंकुश राणा शासनको कालखण्डमा विद्रोहको बिगुल फुक्ने, गरिबीको यथार्थ चित्रण गर्ने र जनचेतनाका अग्रदूत बने। उनको कविताले शोषित वर्गको पीडालाई साहित्यिक अभिव्यक्ति दिएर नेपाली प्रगतिशील साहित्यको नींव राख्यो।


जीवनयात्रा: भोक, भ्रमण र बिगुलको साक्षी

बाल्यकाल: राइपुरको दुःखद यथार्थ

जन्म र परिवार: जेठ ८ गते १९८७ (मे १९३०), तनहुँको राइपुर–६ खोलाखेतमा पिता हरिलाल पोख्रेल र माता मनरुपा पोख्रेलको घरमा जन्मिए। छ वर्षकै उमेरमा पिताको देहान्तपछि परिवार अत्यन्त गरिबीमा फसेको थियो।


"कोदाको रोटी ढिडाको डल्लो डोकोले छोडेन
सुखको दिन गाउँले हो भन किन पो आएन
उक्लनुपर्छ यो ठूलो डाँडा भारी यो बोकेर
पुग्दैन खान भरिया घुम्छ पेट त्यो कसेर ।

खोल्सा र खोल्सी फोहोर सँधै राइपुर सम्झन्छु
सुखदुःख् को साथी डोको र नाम्लो रातदिन कल्पन्छु
लेखपढ गर्न मनसुवा थियो मौकाले दिएन
दुःखीको छोरो म दुःखी भएँ उज्यालो आएन।

शिक्षाको अभाव: गाउँमा रात्री कक्षा संचालन गर्ने पण्डित लक्ष्मीनारायणको सहयोगमा घरैमा रुद्री, चण्डी पढे। मट्टीतेल नभएकोले अरूको बत्तीको उज्यालोमा अक्षर चिने।


"लेखपढ गर्न मनसुवा थियो मौकाले दिएन
दुःखीको छोरो म दुःखी भएँ उज्यालो आएन।
शिक्षाको आँखा नखुलेसम्म देखिन्न सिर्जना
जानेर मर्ने इच्छाको मिठो मेटिन्न तिर्सना।"

विदेश यात्रा: मजदूरी र मानसिक यातना

१३ वर्षमा भारत पलायन: परिवार पाल्न नुन लिन बटौली जाने ढाक्रेहरूसँग भारततर्फ लागे। असाम, सिलोङ, कलकत्ता, मद्रास र बम्बईमा भाँडा माझ्ने, होटल कर्मचारी, जहाज सरसफाई लगायतका काम गरे।


शोषणको अनुभव: मुम्बईमा रात्री स्कूलमा ६ महिना अध्ययन गरे तर मजदूर हड्तालमा संलग्न हुनाले निकालिए। यसै अनुभवले उनको कविता "ढाक्रे" को रचना गर्यो।


"गोकुल जोशी द्वारा लेखिएको
कोदाको रोटी ढिडाको डल्लो डोकोले छोडेन
सुखको दिन गाउँले हो भन किन पो आएन
उक्लनुपर्छ यो ठूलो डाँडा भारी यो बोकेर
पुग्दैन खान भरिया घुम्छ पेट त्यो कसेर।"

अन्तिम दिनहरू

जोशीले जीवनको अन्तिम समय झापाको घैलाडुब्बामा बिताए। २०१८ सालको असार ४ गते (जुन १९६१) मात्र ३१ वर्षको उमेरमा क्षयरोग र अन्य स्वास्थ्य समस्याका कारण उनको निधन भयो। उनको अन्त्येष्टि स्थानीय बिरिङ खोलामा गरियो।


साहित्यिक विरासत: क्रान्तिको शब्दहरू

काव्यशैली र विषयवस्तु

झ्याउरे छन्दमा क्रान्ति: लोकगीतको लय (झ्याउरे) लाई जनजागरणको हतियार बनाए। उनका कविता सरल, मर्मस्पर्शी र युद्धघोष जस्तै प्रभावकारी थिए।


मुख्य विषय:


  1. वर्गीय शोषण:
    "भोकभोकै मर्न लागे कविकलाकार,
    तड्पाएर नमारिदेउ झुण्ड्याएर मार"
  2. देशप्रेम:
    "नेपालको टाकुरामा दिन उदाएन
    अझै हाम्रो पर्वतमा भाले कराएन।
    वनवनै सुसेलीमा रुनु कति पर्ला
    नेपालीलाई कहिलेसम्म दास हुनुपर्ला ?

    भोकभोकै तड्पिएर दिन कति टारौँ
    नौलो युग ल्याउने भए नौलो बाटो लागौँ ।
    को हो रोक्ने दूरदर्शी विचारका धारा ? अग्रगामी नेपालको बोक्ने अभिभारा ।
    (नेपालको भविष्य)"
  3. शिक्षाको महत्त्व:
    "शिक्षाको आँखा नखुलेसम्म देखिन्न सिर्जना
    जानेर भर्ने इच्छाको मीठो मेटिन्न तिर्सना
    कोदाको रोटो नुनको ढिको मिलाई टोकेको
    छोराले अब बोक्दैन डोको बाबुले बोकेको"

प्रकाशित कृतिहरू

कृति वर्ष (वि.सं.) विषयवस्तु
नेपालको भविष्य २०११ राष्ट्रिय एकता र प्रगतिको सपना
एशियाको फूलबारी नेपाल २०१२ प्रकृतिको सुन्दरता र सामाजिक समानता
बाँच र बाँच्न देऊ २०१४ मानव अधिकार र स्वतन्त्रताको आह्वान
सिमानाको दीप २०१५ क्रान्ति र आशाको प्रतीक
डा. केआई सिंहलाई नेपाल आउन देऊ २०१२ क्रान्ति र आशाको प्रतीक
नव प्रभात २०१२ ...

प्रगतिशील साहित्यमा स्थान

प्रगतिवादी धाराका अगुवा: देवीप्रसाद किसान, गोपालप्रसाद रिमालसँगै उनले व्यङ्ग्य, विद्रोह र क्रान्ति को त्रयी नेपाली कवितामा स्थापित गरे।


साहित्यिक प्रभाव: भारतीय विचारक राहुल सांस्कृत्यायनले उनलाई "नेपाली जातिका उत्कृष्ट कवि" भने, भानुभक्त र देवकोटापछिको तेस्रो स्तम्भ मानिए।


"दुसाध्य पहाडको चुलीमा कष्टले पुगेका सर्जकको कामको पूर्ण कदर हुने विश्वास गरेको छु।"
- राहुल सांस्कृत्यायन

विरासत र समकालीन प्रासङ्गिकता

स्मृतिस्थलहरू: उपेक्षित योगदान

राइपुर, तनहुँ

जन्मस्थलमा गोकुल जोशी स्मृति पार्क छ, तर सडक र सुविधा अभाव ले पर्यटक आकर्षण बन्न सकेको छैन।

Gokul Joshi Smriti Park

घैलाडुब्बा, झापा

मृत्युस्थलमा गोकुल जोशी अध्ययन केन्द्र स्थापना गरिएको छ।

सांस्कृतिक प्रभाव

शैक्षिक पाठ्यक्रम: "राइपुरको सम्झना" जस्ता कविता नेपाली पाठ्यपुस्तकमा समावेश छन्।


पुरस्कार र सम्मान:


  • गोकुल वाङ्मय पुरस्कार (गण्डकी साहित्य सङ्गम)
  • तनहुँमा उनको नाममा सडक र प्रतिमा

आजको संदर्भमा प्रासङ्गिकता

सामाजिक असमानता विरुद्ध: "विवश भए मनुष्य झुक्ला भावना झुक्दैन" जस्ता पंक्तिहरू आन्दोलनकारीहरूको प्रेरणा बनेका छन्।


साहित्यिक सन्देश: उनको दृष्टिकोण सामाजिक न्याय, शिक्षा र राष्ट्रिय गौरव को लागि आज पनि मार्गदर्शक छ।


"अग्लाअग्ला चुचुरामा बिजुलीको तार
डाँडैडाँडा दगुर्ने छन् नयाँ नयाँ कार
शहरमा हिलो धुलो कतै हुने छैन
शोषकको अधीनमा कोही रहने छैन।"

निष्कर्ष: अमर विद्रोहीको सांस्कृतिक विरासत

गोकुल जोशीको ३१ वर्षे जीवन नेपाली साहित्यको क्रान्तिकारी अध्याय हो। भोक, रोग र उपेक्षाबीच पनि उनले जनताको स्वर लाई कवितामा स्थायी बनाए। आज उनको स्मृतिलाई जोगाउन जन्मथलोको विकास, अप्रकाशित रचनाहरूको संकलन र युवा पुस्तासम्म उनको विचार पुगाउनु जरुरी छ। जस्तै उनैले भनेका थिए—


"को हो रोक्ने दूरदर्शी विचारका धारा? अग्रगामी नेपालको बोक्ने अभिभारा"

नेपाली समाजले जबसम्म समानता र न्यायको खोजी जारी राखेको छ, गोकुल जोशीको काव्य-बिगुल त्यसको प्रेरणाको स्रोत बनिरहनेछ।




जनकवि "जुरेली"

गोकुल जोशीको बारेमा विस्तृत जानकारी लिनुहोस्।

जनकवि स्व. गोकुल जोशी

रोक्ने को हो ?

रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा ?

व्यस्त रह्यो आधा जीवन हात रह्यो खाली
छैन कहाँ बास बस्ने प्रकृतिको डाली
नेपालको टाकुरामा घाम उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन ।

वन-वनै सुसेलीमा रुनु कति पर्ला ?
नेपालीले कहिलेसम्म दास हुनु पर्ला ?
कहिले होला विज्ञानले नौलो खोल हाल्ने
मानवता फैलाउने दानवता ढाल्ने ।

नौलो नयाँ समाजको सङ्केत बारम्बार
सभ्यताको जग राख्ने, कवि-कलाकार
मानवता छट्पटायो व्यथा के हो बोल
समाजको थोत्रिएको मिल्काइदेऊ खोल ।

जनकवि जुरेली गोकुल जोशी को जन्म बिक्रम सम्बत १९८७ साल जेठ ८ गते तनहुँ जिल्लाको शुक्लागण्डकी–११, राईपुर (साविकको तनहुँ जिल्ला को राइपुर ६) खोलाखेतमा, बाबु हरिलाल र आमा मनरुपा पोख्रेल जन्मनुभएको थियो। तनहुँमा जन्मिनु भएपनि उहाँ जुरेली झैं कहिले यता र कहिले उता गरिरहनु पर्यो जीवनभर र मृत्यु झापामा भयो त्यसैले उनलाइ जनकवि जुरेली भनिन्छ। गोकुलको वाल्यकाल राइपुर मै बित्यो । उनी राइपूरको सम्झना कवितामा लेख्छन्:–


कोदाको रोटी ढिडाको डल्लो डोकोले छोडेन
सुखको दिन गाउँले हो भन किन पो आएन
उक्लनुपर्छ यो ठूलो डाँडा भारी यो बोकेर
पुग्दैन खान भरिया घुम्छ पेट त्यो कसेर ।
खोल्सा र खोल्सी फोहोर सँधै राइपुर सम्झन्छु
सुखदुःख् को साथी डोको र नाम्लो रातदिन कल्पन्छु
लेखपढ गर्न मनसुवा थियो मौकाले दिएन
दुःखीको छोरो म दुःखी भएँ उज्यालो आएन ।
(धरा पत्रिका २०४९ अङ्क ९१)

घरमा पर्याप्त खेतीपाती नहुँदा खान लाउन अभाव थियो । उनको मात्र हैन अधिकांश गाउँलेको । गरिब परिवारमा जन्मिएका उनी १३ वर्षमै विदेशिएका थिए । उनी कति गरिब थिए भने गाउँको रात्री क्लासमा पढ्दा मट्टितेल जुटाउन नसक्ने भएपछि उजेलोमा बसेर पढ्न समेत पाएनन् । उनी अँध्यारोमै बसेर गुरुले पढाएको सुन्थे । गाउँमै बुढापाकासँग उनले अक्षर चिन्न सिके र रुद्री चन्डी आदि पढे । जोशीले छ वर्षमै बुवा गुमाएका थिए । सात सन्तानलाई हुर्काउने आमालाई सघाउन र आर्थिक उन्नति गर्न उहाँ १३ वर्षमा लाहुर अर्थात् भारत जानुभएको थियो ।


गोकुल जोशी नेपाली साहित्यका चम्किला नक्षत्र हुन् । उनको बाल्यकाल दुःखपूर्ण त रह्यो नै साथै जीवनभर उनले दुःख पाइनैरहे । रोजगारीको सिलसिलामा जन्मभूमि छाड्नुपर्ने बाध्यताले गोकुललाइ पनि रोक्न सकेन र १३ वर्षको उमेर मै नून लिन बटौली जाने टोलीसँग मुगलान हानिए । उनको ढाक्रे कविता यसैको फलस्वरुप जन्मिएको थियो । ढाक्रे भन्ने शब्द ‘ढाकर’ भन्ने शब्दबाट आएको हो । मगर भाषामा डोकोलाई ढाकर भनिन्छ । डोको अर्थात ढाकर बोक्नेलाई ढाक्रे भनिएको हो । त्यतिबेला डोकोलाई सामान र वस्तु वस्तु बोकेर ओसार पसार गर्ने महत्वपूर्ण साधनको रुपमा प्रयोग गरिन्थ्यो । सानै उमेरका भएपनि उनले यो अनुभव गरे र यसलाई ‘ढाक्रे’ कवितामा उतारे । यहाँ उनले ढाक्रेहरुको समग्र यात्रा र उनीहरुको जीवन शैलीको आफ्नो गीतीलयमा सजीव चित्रण गरेका छन् । त्यति बेलाका मानिसहरु आफूलाई आवश्यक पर्ने कृषि उपज बाहेकका अन्य सामानहरु खासगरी नुन तेल लिन त्यतिबेला बटौली भनिने अहिलेको बुटवल बजार जान्थे । लाहुर जानु अघि सानैमा गोकुल पनि यिनै ढाक्रेहरुको पछि लागेर बटौली गएका रहेछन् । यिनको गाउँबाट त्यस ठाउँमा हिँडेर जानुपर्ने भएकाले पुगेर फर्कंदा हप्तौँ लाग्ने गथ्र्यो ।
Gokul Joshi's House

शिक्षादिक्षा: अँध्यारोमा सिकाइको ज्योति

जोशीले कुनै पनि औपचारिक शिक्षा प्राप्त गर्न पाएनन् । गाउँमा बाहिर कतैबाट केही पढेर आएका लक्ष्मीनारायण भन्ने पण्डितले स्थानीय ठिटाहरुलाई सिकाउने जिम्मा पाएका थिए । उनीहरु दिनभर कृषिकर्ममा मेहेनत गर्थे र बेलुका एक ठाउँमा जम्मा भएर टुकी र लालटिनको उज्यालोमा उतिबेलाको काठको पाटी र खरीको सहारामा पढ्थे । गरिबीको कारण गोकुलसँग मट्टीतेल प्रयोग गर्ने पैसा पनि हुँदैनथ्यो । अरुहरुले उनलाई आफ्नो समूहमा मिसाउन चाहँदैनथे । तर उनकै अनुसार जति अपहेलित भएपनि अरुले छोडेको उज्यालो प्रयोग गरेर उनले पढ्न लेख्न सिके । औपचारिक शिक्षा त धेरै परको कुरा भयो । भारत पुगेर गोकुलले मुम्बइको एउटा रात्रीकालिन विद्यालयमा ५–६ महिना पढेको जानकारी पाइन्छ । उनले आँफुले शिक्षा नपाएपनि शिक्षाको राम्रो चेत भने उनीमा देखिन्छ । जोशी लेख्छन्:–


लेखपढ गर्न मनसुवा थियो मौकाले दिए
दुःखीको छोरो म दुःखी भएँ उज्यालो आएन ।
शिक्षाको आँखा नखुलेसम्म देखिन्न सिर्जना
जानेर मर्ने इच्छाको मिठो मेटिन्न तिर्सना ।।

यायावरी जीवन: लाहुरदेखि लागेको लम्को

गाउँघरमा त्यतिबेला हट्टाकट्टा मगर, गुरुङ, क्षेत्रीका छोराहरु विदेशी सेनामा भर्ती हुन्थे भने अरुको विकल्प आसाम, सिलोङ लगायत पूर्वोत्तर, भारतमा गई गाईगोठ र भैँसी गोठमा काम नै गर्ने हुन्थ्यो र यी पनि लाहुरे कहलिन्थे । कमाइको स्रोत यही हुन्थ्यो । गोकुल पनि १२/१३ वर्षकै कलिलो उमेरमा ‘लाहुर’ गए र सिलोङ पुगे । गाईगोठमा काम गर्दै, छोड्दै शिलोङ, आसाम हुँदै उनी कलकत्ता र मद्रास पनि पुगे । कहिले पानी जहाजमा कहिले फ्याक्ट्रीमा काम गर्दा गर्दै समय बिताए । तर कमाउन सकेनन् । बरु नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ संगतले उनलाई धेरै सिकायो । स्वअध्ययन गरे । भारतका धेरै सहरमा पुगेर काम गरेको देखिन्छ । सुरुमा असाम, सिलाङ र गुहावटी पुगेर होटेलमा काम गरे । त्यसको केही समयमै कलकत्ता पुगे । कलकत्ता पुगेर एक वर्षजति दवाई पसलमा काम गरे । उनी त्यहाँ पनि टिक्न सकेनन् । सैनिक क्याम्पको पिउन भएर मद्रास हान्निए । त्यहाँ रहँदा उनले केही अध्ययन गरे । त्यहाँ करिब डेडवर्ष बसेपछि उनी बम्बईतिर लागे । बम्बईमा केही समय होटलमा काम गरेपछि उनले जहाजमा काम गर्न थाले । त्यहाँ बस्दा उनले रातीको समय मिसिनरी रात्री स्कूलमा पढ्न थाले । यसबाट थाहा हुन्छ उनमा अध्ययनको भोक कति थियो । त्यहाँ पनि उनी लामो समय बस्न पाएनन् । कम्पनीमा हड्ताल भयो । उनी हड्ताल गरेको आरोपमा नोकरीबाट निकालिए । करिब आठ वर्षको भारतको बसाइपछि आठ सालमा गोकुल नेपाल फर्किए । विदेशमा रहँदा पानीजहाजमा कुल्ली, होटलमा कान्छा, कहिले पिउन, कहिले कारिन्दा भएर काम गरे । आसाम, सिलाङ, कलकत्ता, मद्रास हुँदै बम्बई पुग्दा पनि नेपालीको दुर्गती उस्तै पाए । सानैदेखि विद्रोही चेतका उनमा त्यहाँका नेपालीको अवस्था देख्दा पीडा महसुस नहुने कुरै भएन ।

उनी सानैदेखि विद्रोही र अस्थिर चरित्रका थिए । एकै ठाउँमा बस्न नसक्ने स्वभाव थियो उनको । उनी प्रायः घुमिरहन्थे । भारतका विभिन्न ठाउँको करिब आठ वर्षको घुमाइपछि उनी नेपाल आए । नेपाल फर्किएर गौचर हवाइ अड्डामा काम गर्न थाले । देशमा प्रजातन्त्र आएको खबर पाएपछि उत्साहित हुँदै नेपाल आएका थिए । तर यहाँको अवस्था उनले सोचेजस्तो थिएन । नेपाल आएपछि उनी प्रजापरिषदमा आवद्ध भए । प्रजापरिषदमा आवद्ध भएकैले हवाइअड्डामा काम पाएका थिए । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । त्यो समय भनेको नेपाली राजनीतिको अस्थिर काल थियो । प्रायः सबैतिर हड्ताल र विरोध पदर्शन भइरहन्थ्यो । हवाइ अड्डाका मजदूर पनि आन्दोलित भएका थिए । जोशी कामदारलाई आन्दोलन गर्न उक्साएको आरोपमा निकालिए ।

त्यसपछि यिनले बाँच्नका लागि काठमाडौंका गल्ली र पार्कमा कविता भट्याउँदे हिँड्न थाले । गोविन्द भट्टका अनुसार उनले त्यो समयमा पाँचपाँच पैसामा गीत बेचेर सडक, गल्ली, पार्क र चौतारामा कविता गाएर पेट पाल्नुपऱ्यो । यस्तो समय केही समय रह्यो । यही समय उनी धर्मराज थापाको संगतमा परे । उनी धर्मराजसँगै देशभ्रमणमा निस्किए । यो बिचमा उनी घर पनि पुगे । घरबाटै वीरगञ्ज हुँदै कलकत्ता पुगे । कलकत्ताको केही दिनको बसाइपछि उनीहरू हरिद्वार हुँदै देहरादुन र भाक्सु पुगे । त्यहाँ उनीहरूको राहुल साँस्कृतायन र मास्टर मित्र सेनसँग भेट भयो । उनीहरू त्यहाँबाट फेरि कलकत्ता फर्किए ।

उनी स्वाभिमानी चरित्रका थिए । अरूले दबाएको र तिरस्कार गरेको सहन गर्दैनथे । उनलाई धर्मराज थापा अर्दलीजस्तो व्यवहार गर्थे । मानौँ उनी धर्मराज थापाका भरिया हुन् । यथार्थ यस्तो थिएन । विदेशका धेरै ठाउँ घुमेका र लोकलयमा तुरुन्तातुरुन्तै कविता लेख्नसक्ने क्षमता भएका गोकुललाई साथ लिँदा आफूलाई फाइदा हुने भएकैले उनलाई सँगै लिएर हिँडेका थिए धर्मराज । तर उनको स्वतन्त्र सोचाइ र स्वाभिमानी चरित्रले धर्मराज थापासँग पनि लामो समय सँगै रहन दिएन । उनी कलकत्ताबाट छुट्टिएर काठमाडौं फर्किए । त्यसपछि उनी एकलै लेख्ने र भ्रमणमा निस्किने सोच बनाए । यतिखेरसम्म उनी श्यामप्रसाद शर्माको सम्पर्कमा आइसकेका थिए । उनी काठमाडौंबाट फेरि श्यामप्रसादलाई खोज्दै वीरगञ्ज पुगे । त्यहा उनी सेवा सदनका पुस्तकहरू वीरगञ्ज स्टेशनमा बेचेर बस्न थाले । यही बिचमा उनको भेट बालकृष्ण पोखरेलसँग भयो । उनी बालकृष्ण पोखरेलको साथ लागेर विराटनगर पुगे र करिब एक वर्ष उनकै घरमा बसे । त्यसपछि उनी दार्जिलिङतिर लागे । त्यहीँबाटै पूर्वी पहाड हुँदै उनी काठमाडौं आए ।

काठमाडौं आएर उनी डा.केआई सिंहको पार्टीमा आवद्ध भएर पश्चिम नेपालका धेरै ठाउँ पुगे । उनी केआई सिंहसँग पनि लामो समय सँगै रहन सकेनन् । सिंहलाई छोडेर फेरि एकलो र यायावरीय जिन्दगी जिउन थाले । कहिले काठमाडौं कहिले देहरादून, भाक्सु र कहिले विराटनगर, झापा गर्दै रहे । यतिखेर उनी पूर्वतिर जाँदा झापा, घैलाडुब्बाका देवीप्रसाद उप्रेतीको घरमा बस्न थालेका थिए । जीवनमा उनी धेरै ठाउँ पुगे । धेरैको संगत गरे । जहाँ पुगेपनि झापा र विराटनगरलाई भने कहिल्यै भुल्न सकेनन् । जीवनको अन्तिमा दिनमा पनि उनी झापा पुगे । विरामी अवस्थामा कहिले देवीप्रसाद उप्रेतीको घरमा त कहिले प्रचण्डलाल मास्केको घरमा बसे । भोक, रोग र शोकले विक्षिप्त अवस्थामा पुगेको उनको मृत्यु घैलाडुब्बा हाइस्कूलमा भयो । २००९ देखि साहित्यमा अलि बढी सव्रिmय जोशीको निधन २०१८ मा विक्षिप्त अवस्थामा मलेरिया र निमोनियाबाट झापाको घैलाडुब्बामा भएको थियो । विसं २०१८ सालमा ३१ वर्षकै उमेरमा झापाको घैलाडुबामा निधन भएपनि उहाँले छोटो अवधिमा नेपाली साहित्यले बिर्सनै नसक्ने योगदान पुर्‍याउनुभएको छ पु¥याउनुभएको छ ।

यसबाट थाहा हुन्छ उनी स्वाभिमानी कवि थिए । स्वतन्त्रता र स्वाधीनताको अपार लालषा पालेर हिँड्ने अस्थिर स्वभावका यात्री थिए । कतिपयले उनलाई यही अस्थिर चरित्रमा टेकेर विभिन्न आरोप पनि लगाउँछन् । तर गोकुल जोशी किन यतिविघ्न अस्थिर थिए भन्ने कुरा खोज्नतिर लाग्दैनन् । के कारणले उनी यसरी भौँतारिँदै हिँड्थे ? कुन कारण थियो जसले उनलाई एक ठाउँमा अड्न दिदैनथ्यो ? जब मानिसभित्र चैन र सन्तोष हुँदैन ऊ छटपटाउँछ । यही छटपटीले उसलाई अस्थिर बनाउँछ । उनीभित्र पनि असन्तोष थियो । परिवर्तनको हुटहुटी र यथास्थितिप्रतिको विमतीले सिर्जना गरेको छटपटी थियो । उनी नेपाललाई सुन्दर देख्न चाहन्थे । नेपालीलाई सुखी र खुसी देख्न चाहन्थे । उनीभित्र मानवता, स्वतन्त्रता र परिवर्तनको असीम प्यास थियो । उनी यही प्यासले भौँतारिँदै हिँड्थे । तर जहाँ पुगेपनि जसको संगत गरेपनि उनीभित्रको आगो शान्त भएन ।

साहित्य साधना: जनताको मुखबाट निस्किएका स्वर

गोकुल जोशीले नेपाली साहित्यको कविता र कथा क्षेत्रमा कलम चलाएका छन् । उनी जनताका कवि हुन् । झ्याउरे छन्दमा कविता लेख्ने जोशीका आधादर्जन कवितासङ्ग्रह र एउटा कथा सँग्रह प्रकाशित छन् । उनलाई जनकवि जुरेली को साहित्यीक उपाधि प्राप्त छ । उनी आशुकविका रूपमा पनि चिनिन्छन् । ठाउँको ठाउँ तत्कालै कविता रचना गर्नसक्ने जोशीले नेपालका विभिन्न ठाउँमा घुमेर लोकगीत संस्कृति र भेषभुषाको अध्ययन गरेका कुरा साथी श्यामप्रसाद लाई लेखेको चिठ्ठिमा पाउन सकिन्छ । उहाँले सदैव गरिबको पीडा लेख्नुभयो । वर्गीय शोषण, उत्पीडन र दमनको विरुद्धमा आगो ओकल्ने कविको छवि बनाउनुभएका उहाँले गरिबका पीडालाई गीत र कविताको माध्यमबाट बोल्नुभयो । ठूलाठालुले तल्लो वर्गलाई नगन्ने परिपाटीलाई व्यङ्ग्य गर्ने क्रान्तिकारी कवि जोशीका सिर्जनाले तत्कालिन समयमा फटाहा विरुद्धको सङ्घर्षमा उत्रन धेरैलाई प्रेरित गऱ्यो ।

जोशी क्रान्तिकारी कवि हुन् । नेपालीसाहित्यमा प्रगतिपथका प्रथम कविहरूमा जोशी पनि पर्दछन् । प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य जोशीका ‘नेपालको भविष्य’, ‘एशियाको फूलबारी नेपाल’, ‘नव प्रभात’, ‘बाँच र बाँच्न देऊ’ र ‘सीमानाको दिप’ लगायतका ऊर्जाशील कृतिहरू प्रकाशित छन् । सर्वहारा वर्गको मुक्तिका लागि चेतनाको बिगुल फुक्दै हिँड्नुभएका जोशीको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउने धोको छ गाउँलेलाई ।

भोकभोकै मर्न लागे कविकलाकार
तड्पाएर नमारिदेउ झुण्ड्याएर मार ।

जस्ता पंक्तिका सिर्जनाकार जोशीले लेखकहरूको हकमा पनि आवाज उठाएका छन् र तानाशाही पद्धतिको विरोध गरेका छन् । शारदा पत्रिकामा उनले सरकारको विरोध गरेर लेखेको कविताको अंश यस्तो छ

विवश भए मनुष्य झुक्ला भावना झुक्दैन
शहिदका लाश लुकाए पनि दुष्टता लुक्दैन ।।

नेपालको चिन्ता र समृद्धिको सपना उनका कवितामा भेटिन्छन् । उनी नेपालका टाकुरामा बिजुलीबाट चल्ने कार दौडेको कल्पिन्छन् । महिला अधिकारका कुरापनि उनका कवितामा आउँछन् ।
नेपालको टाकुरामा दिन उदाएन
अझै हाम्रो पर्वतमा भाले कराएन ।
वनवनै सुसेलीमा रुनु कति पर्ला
नेपालीलाई कहिलेसम्म दास हुनुपर्ला ?
भोकभोकै तड्पिएर दिन कति टारौँ
नौलो युग ल्याउने भए नौलो बाटो लागौँ ।
को हो रोक्ने दूरदर्शी विचारका धारा ?
अग्रगामी नेपालको बोक्ने अभिभारा ।
(नेपालको भविष्य)

गोकुल जोशी नेपाली माटोको सुहाउँदो कवि हुन् । उनले जनताको बोलिलाई टपक्क टिपेर गीत लेखेका छन् । जोशीले महाकवि देवकोटा, श्यामप्रसाद शर्मा, बालकृष्ण पोख्रेल, तथा भारतीय साहित्यकार चक्रपाणी चालिसे , राहुल साँस्कृत्यायन आदिसँग सम्बन्ध बनाएका थिए । कवि भूपि शेरचनले जोशीलाई सच्चा जनकवि भनेका थिए । भारतका महान् कवि राहुल सांकृत्यानदेखि नेपालका देवकोटासम्मले यिनको प्रतिभाको उच्च प्रशंशा गरेका छन् । ‘एसियाको फूलबारी नेपाल’ मा भारतीय साहित्यकार राहुल सांस्कृत्ययानले हिन्दीमा छोटो भूमिका लेख्नुभएको छ । जोशीबारे राहुल सांस्कृत्ययानले लेख्नुभएको छ, “दुसाध्य पहाडको चुलीमा कष्टले पुगेका सर्जकको कामको पूर्ण कदर हुने विश्वास गरेको छु ।”

जनकप्रसाद हुमागाइँ लेख्छन् :– जोशी अवैज्ञानिक, अन्ध रुढिवादी दर्शन र दृष्टिकोणका विरोधि थिए । यिनी वैज्ञानिक दर्शन र दृष्टिकोणका पक्षमा उभिन्थे । यिनि सर्वहारा वर्गको वर्गीय मुक्तिको सपना देख्थे ।
कस्तो होला सामूहिक खेतालाले गाउँदा
गण्डकीको थाप्लामाथि नयाँ युग आउँदा ??

कविताको गहिराइ: शैली, विषयवस्तु र विरासत

गोकुल जोशीका धेरै कविता कलाका हिसावले पनि समर्थशाली छन् । उनले परिवर्तन, समृद्धि र स्वतन्त्रताका कविता मात्र लेखेका छैनन् । प्रेम, भावना र मानवीय सम्बन्धका जटिलताबारे पनि असाध्यै सुन्दर कविता लेखेका छन् । उनको ‘बाँच र बाँच्न देऊ’ कविता सङ्ग्रहभित्रका ‘प्रेमाञ्जली’ शीर्षकको कविताको केही पङ्ति हेरौँ,
अखिल तारा अक्षता राखी पुष्कर थालीमा,
सुन्दर शश्यशालिनी नाच्लिन् स्वर्णको राशीमा
स्वागत गर्छु शशीका शीतल ज्योत्सना झुल्काइ
मिर्मिरतामा रजनीमाथि अमृत बषाई ।

त्यस्तै ‘बाँच र बाँच्न देऊ’ कविता सङ्ग्रहभित्रकै ‘आनन्दको खोज’ शीर्षक कविताका पङ्ति हेरौँ,
सपना देखेँ इसारा गरी रहेकी झ्यालमा
परीले कोमल हातमा सुधा लिएर प्यालामा
सुतेको थिएँ भयङ्कर कालो बादल ओढेर
गमन गऱ्यो मनको इन्दु आनन्द खोजेर ।

कवि र कविता यही अशान्त र अस्थिर चरित्रको प्रतिफल हो । शान्त तलाउमा सङ्गीतको अनन्त धुन कहाँ सुन्न सकिन्छ र ! यसका लागि त गडवडाउँदै बग्ने झरना र खोलाको किनारमा नै पुग्नुपर्छ । यथास्थितिप्रतिको तीब्र असन्तुष्टी र सुन्दर समाजको सपना देख्ने गोकुल जोशीले शब्दमा मात्र हैन कर्ममा पनि आफूलाई सफल तुल्याए । जनताको घरआँगनमा र गाउँबस्तीमा कविता गाउँदागाउँदै उनको सास रोकियो । यहाँसम्म कि बृद्ध आमाले सुद्ध उनको मृत्युको खवर एक वर्षपछि थाहा पाइन् । यस्ता थिए मानवता र स्वधीनताका कविता लेख्दै र सुनाउँदै गाउँबस्ती डुल्ने जनकवि गोकुल जोशी ।

उनले जस्तै लोकलयमा कविता लेखेर ख्याति कमाएका उनका समकालीन कविहरू थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा, देवीप्रसाद किसान, भीमनिधि तिवारी, धरणीधर कोइराला, युद्धप्रसाद मिश्र र धर्मराज थापा । यी सबै कविहरू जागरण कालका कविहरू थिए । सबैको आवाज धेरथोर परिवर्तन र जागृतिको थियो । तर गोकुल जोशीले लोकलयलाई नै आफ्नो काव्यिक यात्राको प्रमुख शैली बनाए । जागरण, स्वाधीनता र आत्मसम्मानलाई सधै शिरोपर राखेर कविता लेखे । अरूहरू कोही शास्त्रीय छन्दतिर लागे कोही भारदारी सभातिर । तर, घुम्दैफिर्दै काठमाडौं आइसकेका गोकुल जोशी भने फर्किएर फेरि जनताको घरआँगनमा पुगे ।

विचित्रको सयोग थियो, सत्ताका जनकवि धर्मराज थापा र जनताका जनकवि गोकुल जोशी कुनै समय सँगसँगै हिँडेका थिए । तर त्यो हिँडाइ दीगो भने हुन सकेन । धर्मराजले मेरो झोला बोक्ने मान्छे भनेपछि गोकुल जोशीले उनको साथ छोडेका थिए । उनले लोकलयलाई आफ्नो कविताको मुख्य आधार बनाएर कविता लेख्थे । धर्मराज पनि लोकलय र लोकगीतलाई नै आधार बनाउँथे । धर्मराजले लोकगीतको खोज र अनुसन्धानमा काम गरे । सत्ताको भक्ति गाएवापत ‘जनकवि केशरी’ भए । गोकुल जोशीले पनि गाउबस्तीमा गाइने झ्याउरे र लोकभाकालाई टपक्क टिपेर कविता लेखे । गाउँबस्तीमा कविता गाउँदै जनजागृति फैलाउँदै हिँडे । तर सत्ताको वागी हुनुको कारण गोकुल जोशी भोकभोकै मरे । उनको लागि न सत्ताले कुनै सम्मान दियो न आजीवन भत्ता ।

मान्यता र विस्मृति: जनताको हृदयमा अमर

कुरो के सत्य हो भने गोकुल जोशीलाई २०१३ सालमै नेपाली साहित्यका हस्तीहरूदेखि शुभेच्छुक र सर्वसाधारणले जनकविको सम्मान दिइसकेका थिए । उनी देशभित्र मात्रा हैन भारतमा समेत नेपाली भाषाका जनकविको रूपमा प्रख्यात भैसकेका थिए । ‘एशियाको फूलबारी नेपाल’को प्रकाशन हुँदा शुभकामना दिँदै कवि सिद्धिचरण श्रेष्ठले सन १९५५मा उनलाई जनकवि भनेर सम्बोधन गरका छन् । बालकृष्ण समले २०१३ मा उनलाई ‘जनकवि मात्र हैन योग्य साहित्यिक तपस्वीको रूपमा लिएको छु’ भन्छन् । २०१३ मै भीमनिधि तिवारीले उनलाई ‘जनकवि गोकुल जोशीको जीवन देखेर ज्यादै प्रभावित भएको’ कुरा लेख्छन् । त्यही साल डा. के. आई. सिंहले पनि उनलाई जनकवि भनेर सम्बोधन गर्छन् । अध्ययनले बताउँछ २०१३ सालसम्ममा उनी जनकविको रूपमा परिचित भैसकेका थिए । प्रसिद्धि कमाइसकेका थिए । अझ यसो भनौँ जनस्तरबाट समेत उनलाई जनकविको रूपमा स्वीकार गरिसकिएको थियो । पण्डित राहुल सांस्कृतायनले सुद्ध नेपाली जातिका अच्छे कवि भनेर प्रशंसा गरिसकेका थिए । नेपालभित्र र नेपालबाहिर दार्जिलिङ, आसाम, देहरादुन देखि भाक्सुसम्म जनकविकै रूपमा चिनिएका थिए । तर सत्ता भने उनीबारे अनभिज्ञ थियो । हुन त सत्तालाई गोकुल जोशीजस्तो विद्रोही हैन धर्मराजजस्तो कठपुतली चाहिएको थियो । सायद यही भएर होला राजा महेन्द्रबाट २०१३ सालमा हतारहतार धर्मराज थापालाई ‘जनकवि केशरी’को उपाधिद्वारा विभूषित गरिएको ।
Gokul Joshi Statue

कहाँको त्यो राइपुरको उराठ र बन्जर भीरपाखो कहाँको पोखराको बाटुलेचौर ? धर्मराज थापा बाटुले चौरमा हुर्किएका थिए । गोकुल जोशी राइपुरको खोलाखेतमा । दुबैको आर्थिक र सामाजिक हैसियत फरक थियो । तर पनि यी दुई कवि कुनै समय सँगसँगै देश भ्रमणमा निस्किएका थिए भन्दा कमैले पत्याउलान् ।

कतिपयले गोकुल जोशीलाई झ्याउरे कवि भन्छन् । कतिपयले नारावादी । ठिक छ उनी झ्याउरे लयलाई आत्मसात् गर्ने कवि हुन् । र, उनी परिवर्तन, समृद्धि र स्वधीनताको कविता लेख्ने कवि हुन् । स्वभावैले यस्ता कविको स्वर उचो हुन्छ । विद्रोही हुन्छ । तर के उनले मात्र लोकलयमा कविता लेखे ? अरूले लेखेनन् ? खेम परिश्रमी गोकुल जोशीको संक्षिप्त जीवनीमा लेख्छन्, ‘उहाँको समयकालमा झ्याउरेलाई हेय दृष्टिले हेरिन्थ्यो त्यसैले काठमाडौंका तत्कालीन उपल्लो तहका भनिने लेखक तथा साहित्यकारहरू उहाँको कवितालाई राजनैतिक प्रचार मात्र ठान्दथे । उहाँलाई गाइने कवि र फिरन्ता, मगन्तेको रूपमा लिन्थे । तर पनि उहाँ जनताको समस्या जनताकै भाषामा लेख्दै गाउँदै हिँड्नुभयो र जनताको हृदयमा स्थान ओगट्नु भयो ।’

कलात्मक उत्कृष्टता र दूरदर्शिता

‘सिमानाको दीप’ शीर्षकको कविता पङ्ति हेरौँ,
शिशिरपछि वसन्तका पलाउँछन् पात
रातपछि दिन आउँछ, दिन गए रात ।
नेपालका टाकुरामा दिन उदाएन
अझै हाम्रा पर्वतमा भाले कराएन ।

समालोचक गोविन्द भट्टले सिमानाको दीपको भूमिकामा लेखेका छन्, ‘युग चेतनाका दृष्टिबाट हेर्ने हो भने, तिनैताका गोकुलप्रसादका रचनाहरू देवकोटा वा रिमालका रचनाहरूभन्दा कम्ता स्तरका थिएनन् ।’ ‘सिमानाको दीप’ शीर्षक कविताका यी पङ्तिले उनलाई गोपालप्रसाद रिमालभन्दा पनि दूरदर्शी र क्रान्तिकारी देखाउँछ । कवि जनकप्रसाद हुमागाईले गोकुल जोशीबारे लेखेको ‘मानवता र मुक्तिका कवि गोकुल जोशी’ नामक कृतिमा ‘यी पङ्तिले कवि रिमालको ‘आमाको सपना’लाई पनि उछिनेको पाएँ’ भन्छन् ।

अर्को नयाँ निर्माणको, विश्व पनि आउला
फेरि पनि नेपालीले क्रान्ति गीत गाउला
विश्व सबै सुते पनि भावना यो जाग्ला
नेपाली नै सर्वप्रथम निर्माणमा लाग्ला ।

‘सम्झनाको बाटो’ शीर्षक कविताका यी पङ्तिले समतामूलक समाजको परिकल्पना कति सुक्ष्म र गहन ढङ्गले गरिएको छ भन्ने कुरा प्रष्ट पार्छन्,
वनवनै सुसेलीमा रुन कति पर्ला ?
नेपालीलाई कहिलेसम्म दास हुनु पर्ला ?
कस्तो होला सामूहिक, खेतालाले गाउँदा
गण्डकीको थाप्लामाथि नौलो युग आउँदा ।

उनी प्रकृतिलाई मानवीकरण गर्ने र राजनीतिभित्रको कटु यथार्थलाई उदाङ्गो पार्ने कवि थिए । जसले गर्दा उनी न कहिल्यै सत्ताको नजिक भए न समालोचकको । उनको दृष्टिकोण माझिदै र विकसित हुँदै गएको देखिन्छ । एक कक्षा पनि नपढेका र सधै भौँतारिँदै हिँड्ने कविमा दरवारी र भारदारी कविमा भन्दा कुनै मानेमा पनि कलाचेत कमजोर छैन ।

‘प्रेमाञ्जली’ शीर्षक कविताका यी पङ्तिले उनले प्राकृतिक सुन्दरतालाई कसरी कलात्मक ढङ्गले मानवीकरण गरेका छन् बुझ्न सकिन्छ,
पवित्र तिम्रो हृदय लोक प्रवेश गर्नेछु
पुगेर त्यहाँ आश्चर्यचकित भएर हेर्नेछु
छ कति रम्य छ कति आशै आशाले रन्जित ?
लाजले शीर झुक्नेछ सौगात नहुँदा मसित ।

सौन्दर्यताको हृदयभित्र लुकेको वैभव,
विश्वको मुटु हल्लाउने शक्तिशाली यो शैशव
पवित्रताको मृदुल उर पग्लिन्छ शोकले
निष्ठुरतामा रहन्न प्रेम कुहुन्छ रोगले ।

उनी कुरालाई घुमाउन नजान्ने र सन्ध्या भाषा बोल्न नजान्ने कवि थिए । उनी सामाजिक र वैज्ञानिक चेतनाले ओतप्रोत जनताका कवि थिए । जनताको भाका टिपेर मात्र हैन जनतालाई जगाउने, उनीहरूको दुःखमा दखित हुने र उनीहरूकै घरआँगनमा रमाउने भएकैले उनी जनकवि भएका हुन् । यो कुनै सत्ताले दिएको पगरी हैन । जनताले दिएको सम्मान हो । उनका प्रत्येक रचनामा अशिक्षा र गरिबीको चिन्ता देखिन्छ । दासता र अन्धविश्वास कसरी हटाउने, देशलाई कसरी स्वाधीन र सम्पन्न गराउने भन्ने हुटहुटी भेटिन्छ । यी कविले देशलाई आमालाई जस्तै माया गर्थे । देशको दुःख देखेर भक्कानिन्थे । नेपालीलाई आफ्नै दाजुभाइ सरह व्यवहार गर्थे ।

गोविन्द भट्टले ‘सिमानाको दीप’को भूमिका थप लेख्छन्, ‘पाखे’, ‘अशिक्षित’, ‘झुत्रे’ र ‘गाउँले’ गोकुलप्रसाद आफ्ना समकालीन अनेकन् पंडित, प्रोफेसर, दिग्गज बुद्धिजीवी र मूर्धन्य साहित्यकारहरूभन्दा निकै माथि र धेरै अगाडि हुनुहुन्थ्यो । आजको युगवाणीलाई स्वर दिने आधुनिक युग कवि हुनुहुन्थ्यो ।’

तर तिनै जनताका प्रिय कविलाई झुत्रे, झ्याउरे र नारावादी कविको उपमाद्वारा तिरस्कार गरिन्छ । कि बोल्दै बोलिदैन कि भित्तामै पु¥याएर बोलिन्छ । किन यसरी भ्रमित र दृष्टिहीन हुँदै गएका हामी नेपाली साहित्यकारहरू ? कलासाहत्यिको विकास र प्रवद्र्धनका लागि कसैले पनि सही काम गरेको छ भने त्यसलाई सही भन्न हामीले किन नसकेको ? किन हामीहरू यतिविघ्न राजनीतिक पूर्वाग्रहले कुण्ठित भएको ?

हो गोकुल जोशी सनकी र अस्थिर चरित्रका कवि थिए । तर के उनको अस्थिरताले राष्ट्रलाई कुनै घाटा पुग्यो । कवि लहडी हुन्छन्, सनकी र अस्थिर हुन्छन् । यो उनको पहिचान पनि हो स्वाभिमान पनि । महाकवि लहडी थिएनन् र ! उनी अस्थिर थिएनन् र ! अरूहरू विचारमा अस्थिर थिए । राजनीतिक र चारित्रिक रूपमा विशृङ्खलित थिए । कहिले क्रान्तिका कविता लेख्थे कहिले सत्ताको भक्तिगान गाउँथे । तर गोकुल जोशीले कहिले पनि सत्ताको भक्तिरागमा आफ्नो भविष्य देखेनन् । मृत्युपर्यन्त आस्था, विश्वास र विचारमा अडिग रहे ।

अन्त्य र अमर सम्झना: स्मृतिका बोटबिरुवा

उनी जन्मिएको राइपुर गाउँ अहिले सुनसान छ । त्यो विकट पहाडमा को बस्नु ? सबै सुगम ठाउँ खोज्दै तलतिर झरे । उनले स्थापना गरेको स्कूल जहाँ केही समय बच्चाहरूलाई पढाएका थिए त्यो अहिले छैन । राइपुरेहरूले सिमाना प्राथमिक विद्यालयको नामाकरण गरेपनि अहिले त्यो विद्यालय अर्कै विद्यालयमा मर्च भएको छ । जनताको सहयोग र सक्रियतामा राइगाउँमा गोकुल जोशी स्मृति उद्यान बनेको छ । सानै भएपनि उद्यानमा उनको अर्धकदको प्रतिमा छ । तनहुँ सम्पर्क समाज पोखरा, गण्डकी साहित्य सङ्गम पोखरालगायतले जनकविको सम्झना गर्दै विविध साहित्यिक गतिविधि गर्दै आएका छन् । सङ्गमले जोशीको सम्मानमा स्थापित गोकुल वाङ्मय पुरस्कार दुई दुई वर्षमा वितरण गर्दै आएको छ । उहाँको जन्मथलो तनहुँको शुक्लागण्डकी नगरपालिकाको राईपुर, खोलाखेतमा गोकुल पार्क निर्माण गरिएको छ । जोशीको जन्मघरलाई सङ्ग्रहालय बनाउने योजनासमेत रहेको स्थानीय स्ट्रगन रानाले जानकारी दिनुभयो । गोकुल स्मृति प्रतिष्ठानले तीन वर्ष अगाडी स्मृति पार्क बनाएको छ । पार्कमा साढे दुई फिट अग्लो अर्धकदको प्रस्तर मूर्ति ठड्याईएको छ । यो बाहेक अन्य विकास भएको छैन ।

त्यसो त उनको कर्मथलो झापाको घैलाडुब्बामा पनि उनको सालिक स्थापना गरिएको छ । गोकुल जोशी स्मृति प्रतिष्ठानको भवन पनि बन्दै छ । प्रतिष्ठान र सालिक अगाडिको बाटोलाई गोकुल जोशी मार्ग नामाकरण गरिएको छ । यो कविप्रतिको सम्मान हो । जनकवि हुनुको पहिचान हो । जनकविका केही कविता स्थानीय पाठ्यव्रmममा राखिएका छन् । जोशीका उपलब्ध रचना राखेर ‘गोकुल जोशीका सङ्कलित रचनाहरू’ पुस्तक प्रकाशन गरिएको छ । सो कृतिका सम्पादक तथा समालोचक सुकुम शर्माका अनुसार झ्याउरे लयमा सरल, मार्मिक र स्पष्ट अभिव्यक्ति दिने जोशीका कवितामा इमानको जलप चम्किएको पाइन्छ । ‘नेपाली साहित्यको इतिहास २०२७’ मा डा. तारानाथ शर्माले लेख्नुभएको छ, “निष्ठुरी समयले कवि जोशीलाई बौलाहा पा¥यो र निर्मम कालले टपक्क चुँडेर लगिदियो ।”

एकतिस वर्षकै अल्पायुमा मृत्युवरण गर्न पुगेका जनकविको कतिसँग स्मृति होलान्, कतिसँग विस्मृति । उनी अब हामीसँग छैनन् । उनका कृतिमात्र छन् । उनको बारेमा जान्नेबुझ्नेका स्मृति, संस्मरण र उनको जीवनवृतबारे खोजमूलक ग्रन्थ पनि प्रकाशित भएका छन् । उनका अप्रकाशित कृति पनि प्रकाशित होलान् र हराएका रचनाको खोज होला । यो मेरो आशा हो । आशा पूरा हुन पनि सक्छ नहुन पनि । अहिले भने हामीले उनका प्रकाशित कृतिहरू पढेरै उनलाई बुझ्नुपर्ने छ । उनका प्रकाशित कृति हुन्, ‘नेपालको भविष्य (२०११)’, ‘एशियाको फूलबारी २०१२’, ‘डा. केआई सिंहलाई नेपाल आउन देऊ २०१२’, ‘नव प्रभात २०१२’, ‘बाँच र बाँच्न देऊ (२०१४)’ ‘सिमानाको दीप (२०१५)’ विराटनगरमा बालकृष्ण पोखरेलको घरमा बस्दा उनको एउटा कथा पनि प्रकाशित भएको देखिन्छ । उनको एउटा मात्र कथा ‘दुर्घटना’ पढ्दा उनको विलुप्त उपन्यास कस्तो थियो होला सहजै अनुमान लगाउन सकिन्छ ।

यो त नेपाली कवि लेखकको नियति नै हो, जिन्दगीभर लेख्नु र अन्तिममा निराश र कुण्ठित भएर जीवन बाँच्नु । सबैबाट तिरस्कृत हुनु र गुमसुम मृत्युवरण गर्नु । उनी पनि जीवनको उत्तरार्धमा एकलो र निराश जीवन बाँच्न विवश भए । भोक र रोगले थला परेर झापाको घैलाडुब्बामा आफूलाई विसर्जन गरे ।

जनकवि गोकुल जोशी कवितामा परिवर्तन विरोधीलाई लल्कार्दै परिवर्तनका लागि भुइँमान्छेलाई उत्प्रेरित गर्नुहुन्थ्यो । करिब सात दशकअघि जोशीले लेखेका कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । गरिब, भोका, नाङ्गा, उत्पीडितको कविता लेख्ने जनकविको जीवन पनि अभावग्रस्त एउटा मजदुरकै रूपमा गुज्रिएको थियो । सर्वहारा वर्गको मुक्तिका लागि चेतनाको बिगुल फुक्दै हिँड्नुभएका जोशीको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउने धोको छ गाउँलेलाई । जन्मथलोलाई परिचित गराउने सपनाको यात्रा त आरम्भ गरिएको छ । तर, आर्थिक अभावले सुस्त छ । सर्वहारा वर्गको मुक्तिका लागि चेतनाको बिगुल फुक्दै हिँड्नुभएका जोशीको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउने धोको छ गाउँलेलाई । जन्मथलोलाई परिचित गराउने सपनाको यात्रा त आरम्भ गरिएको छ । तर, आर्थिक अभावले सुस्त छ ।

जनकवि गोकुल जोशीका कविताका पङ्ति हुन् यी । आजभन्दा झन्डै साठी वर्ष पहिलेका उनका यी कविता पङ्तिले आज पनि उत्तिकै माने राख्छन् । स्वाभिमान र स्वत्वमा बाँच्ने कवि उहिले पनि तिरस्कृत थिए अहिले पनि तिरस्कृत छन् । सत्ताको विपक्षमा बसेर लेख्नु सामान्य कुरो पनि हैन । साहित्यकार नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ भन्ने कथाजस्तो न हो स्वाभिमान र आस्थाको लडाइँ । सतिसाल बन्ने कि नर्कट ? कठपुतली बन्ने कि मानव ? यो त स्वयम् मान्छेको दृष्टिकोणमा भरपर्ने कुरो हो । उसको वैचारिकीले बनाउने हो सतिसाल । उसको आस्था र विश्वासले बनाउने मानव । गोकुल जोशी जस्तोसुकै आँधीहुरीमा पनि ठिङ्ग उभिनसक्ने सतिसाल थिए । उनले थोरै लेखे । कुनै पुरस्कार, सम्मान र विभूषणद्वारा विभूषित भएनन् । भोकमै जन्मिए, भोकमै हुर्किए र भोककै बिचमा मृत्युवरण गरे । उनले जति लेखे जनताकै लागि लेखे । देशकै लागि लेखे । कसले कति लेख्यो र कुन पुरस्कार पायो भन्दा पनि कसले के लेख्यो भन्ने कुराले महत्व पाउनुपर्ने हो । जीवनलाई समाज र शब्दलाई कर्मसँग जोडेर हेर्नुपर्ने हो । तर यहाँ त्यस्तो पाइँदैन । यहाँ त त्यसको ठिक उल्टो छ । कर्म जतिसुकै प्रतिक्रियावादी भएपनि ऊ महान् हुन्छ । कर्मशील हुनुपर्दैन बस् लेख्नुपर्छ, सत्ताको नजिक पुग्नुपर्छ र आफू लेखक हैन लेखन्दास भएकोमा सगौरव मुस्कुराउन सक्नुपर्छ ।

गोकुल जोशीले बाँचेको समय र अहिलेको समय फरक छ । उनी सामन्ती समाजका रैती थिए । हामी उत्तरआधुनिक समाजका नागरिक भएका छौँ । उतिखेर राजभक्ति र सत्ताशक्ति चरम थियो । अहिले उपभोक्तावाद नाङ्गो रूपमा हामीबिच फैलिदो छ । सत्ताको दबदबा उस्तै छ । मानिस हरेक काम र वस्तुलाई उपभोक्तावादी आँखाले हेर्छन् । विडम्बना ! साहित्यमा पनि यो प्रवृत्ति उत्तिकै छ । कसको बारे लेख्ने ? कसको बारे बोल्ने ? बोलेर फाइदा के छ ? समालोचक सोच्छ, मैले समय लगाएर फलानोको बारे लेखेर मलाई के फाइदा ? बेकारको दुःख किन बेसाउने ? अहो ! कस्तो समयमा बाँचिरहेका छौँ हामी ! गोकुल जोशी भए के गर्दा हुन् यतिखेर ! उनी पनि कलासाहित्यलाई सत्तामा उक्लिनेभऱ्याङ्ग बनाउँदा हुन् कि ! नाफा र घाटाको तुलोमा तौलिएर सम्बन्ध बनाउँदा हुन् कि ! म यतिखेर उनलाई नै सम्झिरहेको छु ।



गोकुल जोशीको बारेमा अन्य थुप्रै लेखहरू पढ्नुहोस्।

लेखिएको पोस्टहरूमा केही त्रुटिहरु हुन सक्छन् l यदि तपाईँले पढ्नुभएको पोस्टहरूमा कुनै पनि त्रुटी छ भने तपाईंले यसलाई सच्याउनको लागि हामीलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। । त्रुटी सच्याउनको लागि यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग पनि कुनै सामग्री तथा पोष्टहरु छ भने तपाईँले यहाँ क्लिकगरेर पठाउन सक्नुहुनेछ। यसरी पठाउनुभएको पोस्ट सिधै ड्राफ्टमा गएर बस्दछ। यदि हामीले रिभ्यु गरेर पोस्ट एप्रुभ भएपछि तपाईँले पठाउनुभएको सामग्रीहरू सिधै पोष्ट भएर आउनेछ।