हरिनास गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम
हरिनास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि घोषणा गर्यो व्यापक नीति तथा कार्यक्रम
स्याङ्जा, हरिनास १, सालडाँडा, असार १७ : हरिनास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम घोषणा गरेको छ। अध्यक्ष खिमनारायण मानन्धरको अध्यक्षतामा आयोजित गाउँसभाले स्वीकृत यस योजनाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत १५ वटा क्षेत्रमा १५७ बुँदे रणनीति समेटेको छ। “समृद्ध हरिनास, सुखी हरिनासवासी” को दृष्टिकोणमा योजनाहरू केन्द्रित छन्।
🔷 प्रमुख नीतिगत प्रतिबद्धताहरू:
- कृषि र पशुपालन:
- 🌿 सुन्तला उत्पादनमा आत्मनिर्भरता — नयाँ बगैँचा, रोगग्रस्त बोट प्रतिस्थापन, जैविक खेती प्रवर्द्धन।
- 🐐 पशु नस्ल सुधार — कृत्रिम गर्भाधान विस्तार, बाख्रापालनमा अनुदान।
- 🍯 मौरीपालन र च्याउ खेतीजस्ता लघुव्यवसाय प्रोत्साहन।
- पूर्वाधार विकास:
- 🛣 दग्दी-कुलुङखोला-किहु सडक प्रदेश सरकारको साझेदारीमा पक्की बनाइने।
- 🚰 "एक घर एक धारा" अभियान अन्तर्गत ७०/३० कोष व्यवस्था।
- 🏢 प्रशासनिक भवन र वडा नं. ६ को भवन निर्माण सम्पन्न गर्ने।
- स्वास्थ्य सेवा:
- 🏥 १५ शय्याको अस्पताल निर्माण — स्थानीय र प्रदेश सरकारको सहकार्यमा।
- 💊 सबै स्वास्थ्य चौकीमा निःशुल्क औषधि तथा डिजिटल सेवा विस्तार।
- 👶 शून्य घरसुत्केरी अभियान सञ्चालन।
- शिक्षा र युवा:
- 📚 ३१ विद्यालयमा शिक्षक दरबन्दी तथा विद्यार्थी-शिक्षक अनुपात सुधार।
- 💼 युवा स्वरोजगार — कृषि तथा IT तालिम, उद्यमशीलता विकास।
- 🏟 प्रत्येक वडामा बहुउद्देश्यीय खेलमैदान निर्माण।
- समावेशीकरण:
- 🧑🌾 दलित, आदिवासी, महिलाहरूका लागि आय आर्जन कार्यक्रम।
- 🏠 अति विपन्नको लागि निःशुल्क स्वास्थ्य बीमा र घर निर्माण सहयोग।
- 👩 एकल महिला भत्ता निरन्तरता।
💰 वित्तीय प्रबन्धन:
- 🏗 सार्वजनिक-निजी साझेदारीमा पूर्वाधार विकास अघि बढाइने।
- 💵 करदाता मैत्री अभियानद्वारा राजस्व संकलन वृद्धि।
- 📊 योजना बैंक प्रणालीबाट सामुदायिक माग अनुसार बजेट विनियोजन।
🗣 अध्यक्ष मानन्धरको भनाई:
"यो नीति स्थानीय विकासको खाका हो। संघीय लक्ष्यहरूलाई स्थानीयकरण गर्दै हामी कृषि, स्वास्थ्य र शिक्षामा आत्मनिर्भर हुनेछौं।"
गाउँपालिकाले संघीय सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट नीतिसँग समन्वय गर्दै यो कार्यक्रम तयार पारेको हो।
हरिनास गाउँपालिकाको अध्यक्षको रुपमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको पूर्ण पाठ
PDF file मा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।
क. सम्बोधन
१. यस गरिमामय सभामा, हरिनास गाउँपालिकाको अध्यक्षको रुपमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्न पाउँदा मैले आफुलाई गौरवान्वित भएको महशुस गरेको छु। हरिनास गाउँपालिकाको विकास र सम्वृद्धिलाइ केन्द्र बिन्दुमा राखेर तय गरिएको आर्थिक वर्ष २०८२/०८३ को यस वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा हरिनास गाउँपालिकालाई अमूल्य सुझाव उपलब्ध गराउनु हुने हरिनास गाउँपालिका बासी, व्यक्ति, संघसंस्था, नागरिक, राजनीतिक दल, लगायत सम्पूर्ण महानुभाव तथा सुभचिन्तक हरुलाई हार्दिक आभार सहित हामि सबैको तर्फबाट धन्यबाद व्यक्त गर्दछु । यस अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा जिवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु।
२. संघीय र प्रदेश सरकारसंगको समन्वय र सहकार्य एवं हरिनास गाउँपालिकाको आफ्नो क्षमता, श्रोत र साधनबाट हरिनास बासीको सम्वृद्धिका लागि अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय पूर्वाधार निर्माण गर्ने, उत्पादन तथा आय वृद्धि गर्ने, सीप तथा क्षमता विकास र उद्यमशीलता विकास गर्ने, आर्थिक सामाजिक क्षेत्रको विकास र अधिकतम रोजगारी सृजना गर्न सघाउ पूराउने उद्देश्य एवं हामिले निर्वाचनका क्रममा हाम्रा मतदाता प्रति अभिब्यक्त गरेका प्रतिज्ञाहरु पूरा गर्ने दिशामा आगामी आर्थिक वर्ष २०८२/०८३ को यो नीति तथा कार्यक्रम अभिमुख गरेका छौं।
३. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढ गरी स्थानीय तहको विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गरी जनतालाइ सु-शासनको प्रत्याभुती गर्ने साधनको रुपमा यो नीति तथा कार्यक्रम निर्देशित रहेको छ। दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीकरण गर्दै उपलब्ध श्रोत र साधनहरुको समूचित प्रयोग गरी सम्बृद्ध हरिनास गाउँपालिका सुखी हरिनास बासी जनताको लक्ष्य हासिल गर्नु यस नीति तथा कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ।
गाउँसभा सदस्यज्यूहरु,
अब म आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रमको मूल भागमा प्रवेश गर्न चाहन्छु ।
ख. कृषि तथा पशु तर्फ
४. निर्वाहमुखि कृषिलाई आधुनिक र व्यवसायीक बनाउँदै कृषि उपजमा पालिकालाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिनेछ। माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन प्रणाली प्रवर्द्धनको लागि कार्यक्रम सञ्चालन साथै गाउँपालिकामा सञ्चालित माटो परिक्षण प्रयोगशालालाई स्तरउन्नती गरिनेछ ।
५. राष्ट्रिय फल सुन्तलाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विगत देखि सञ्चालन हुँदै आएको नयाँ बगैंचा स्थापना, पुरानो बगैंचा सुदृढीकरण, रोगग्रस्त बोट हटाई गुणस्तरीय बिरुवा रोपण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
६. रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले माटोको गुणस्तर र मानव स्वास्थ्यमा परेको नकारात्मक असर न्यून गरी दिगो उत्पादन गर्न प्राङ्गारिक मल, कृषि चुन तथा जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
७. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न माटोको परिक्षण गरी माटो सुधारका कार्यक्रमहरु सञ्चालन गरिने साथै खाद्यान्न, तरकारी तथा फलफूल बालीमा देखा पर्ने रोग, कीराको क्षतीलाई न्यूनीकरण गर्न विभिन्न स्थानमा माटो परिक्षण तथा बाली उपचार शिविर सञ्चालन गरिने छ।
८. सम्भाव्यताका आधारमा लक्षित वर्गलाई स्वरोजगार बनाई आय स्तर वृद्धि गर्न मौरीपालन, च्याउ खेती, व्यवसायीक तरकारी खेतीलाई प्रवर्द्धन गरीनेछ ।
९. कृषिको नीति तथा योजना तर्जुमालाई यथार्थ परक बनाउन कृषिसँग सम्बन्धित तथ्याङ्कहरु संकलन गरि वार्षिक रुपमा अध्यावधिक गरिनेछ। कृषि उत्पादनलाई सहज बजारीकरणका लागि कृषि उपज संकलन केन्द्र तथा भण्डारणको व्यवस्था मिलाईनेछ ।
१०. स्थानीय स्तरमा उत्पादीत उन्नत बीउको प्रयोगलाई बढवा दिई बीउ प्रतिस्थापन दरलाई वृद्धि गर्न कृषि सहकारी तथा कृषक समूहहरुलाई विभिन्न बालीहरुका बीउ उत्पादन गर्न प्रोत्साहन गरिनेछ। परम्परा देखि खेती गरिँदै आएका रैथाने बाली तथा जातहरुलाई संरक्षण गरी उक्त बालीहरुको उत्पादन गरि बजारीकरण गरिनेछ ।
११. गाउँपालिका भित्रै तरकारी तथा फलफूलको नर्सरीको स्थापना गरिनेछ। उक्त नर्सरीमा तरकारी बाली र सुन्तला जात फलफूलको बिरुवा उत्पादन गर्ने तथा उपयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक खाद्यन्नवाली, फलफूल वाली, तरकारी वालीहरुको क्षेत्र विस्तार तथा प्रवर्द्धन कार्य सञ्चालन गरिनेछ ।
१२. गाउँपालिका भित्रका संघ, संस्था, सहकारी, कृषक समूह तथा कृषि फर्महरुसँगको समन्वयमा उत्पादन वृद्धि तथा कृषि बजारलाई व्यवस्थापन गर्दै निर्यात योग्य र व्यवसायीक महत्वका बालीहरुको उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
१३. कृषकहरु तथा कृषि प्रविधिकहरुको क्षमता विकासका लागि नवितम प्रविधि सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । कृषकहरुलाई नियमित प्राविधिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।
१४. बाँझो रहेका खेती योग्य जमिनमा कृषि उत्पादनलाई प्रोत्साहन गरिनेछ। खेती योग्य जमिनमा सिँचाईको व्यवस्था मिलाईनेछ। गाउँपालिका भित्रका सार्वजानिक खालि जग्गाहरुमा वृक्षारोपन तथा रिचार्ज पोखरी निर्माण कार्यहरु सञ्चालन गरिनेछ ।
१५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुन संरचना भई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत पकेट विकास कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१६. "हरिनास गाउँपालिकाको आवश्यकता, कृषि तथा पशुपंन्छि क्षेत्रमा आत्मनिर्भरता” भन्ने मुल नाराका साथ युवाहरुलाई कृषि तथा पशुपंन्छिर मत्स्यपालनमा आकर्षण गराउन युवा स्वःरोजगार तथा युवा लक्षित कार्यक्रमहरु संचालन गरिनेछ ।
१७. आदिवासी जनजाति, दलित, एकल महिला, विपन्न वर्ग, निर्वाहमुखी कृषकहरु, सिमान्तकृत विपन्न परिवारको लागि प्रोत्साहन कार्यक्रम अन्तर्गत बङ्गुरको पाठापाठी, माहु बाख्रा, कुखुराको चल्ला वितरण कार्यक्रम संचालन गरिनेछ ।
१८. पशुधनको संरक्षणको लागि बिभिन्न रोगहरुको खोप सेवा, रोग परिक्षण, रोग निदान, सप्लिमेन्ट वितरण, आन्तरिक तथा वाह्य परिजिवि नियन्त्रण सेवाका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरि पशुहरुको संक्रमण रोग नियन्त्रण गरि पशुधनको सुरक्षा गरिनेछ ।
१९. पशु आहारा तथा पोषण अन्तर्गत पशुपालन व्यवसायमा आम्दानी बढाउने र लागत घटाउनको लागि हिँउदे तथा बर्खे एकवर्षे/बहुवर्षिय घाँसको विउ/बेर्ना निःशूल्क वितरण गरिनेछ ।
२०. पशुमा बाझोपन निवारण जस्ता शिविरहरु, घर दैलोमा पशु हरुको उपचार तथा निरिक्षण गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।
२१. प्राविधिक पहुच भन्दा टाढाको भुगोलमा रहि कृषि तथा पशुपन्छी पालक कृषकहरुलाई घुम्ति शिविरको माध्यमबाट समेट्ने प्रयास गरिनेछ ।
२२. पशुपन्छी प्रयोगशाला सेवा लाई थप विस्तार गरि प्रभावकारी तरिकाले संचालनमा ल्याईनेछ ।
२३. पशुपंन्छि पालन संम्बन्धि नयाँ प्रविधि प्रचार प्रचारको लागि तालिम, भ्रमण लगायतका कार्यक्रम गरिनेछ ।
२४. पशु सेवा शाखामा कार्यरत प्राविधिक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिम/गोष्ठी भम्रण जस्ता कार्यक्रम गरिनेछ ।
२५. रेविज रोगको रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक तथा घरपालुवा कुकुर/विरालोमा खोप तथा वन्ध्याकरण सेवा कार्यक्रम गरिनेछ ।
२६. पहाडी भुगोल चरण क्षेत्र भएको ठाउँमा बाख्रा प्रर्वधन कार्यक्रम संचालन गरि मासुमा आत्मनिर्भर हुने नीति लिइनेछ ।
२७. उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नका लागि नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधान कार्यक्रममा जोड दिई कृत्रिम गर्भाधान बाट जन्मेका बाच्छा/बाच्छि, पाडा/पाडी लाई प्रोहत्सान कार्यक्रम गरिनेछ ।
२८. भकारो सुधार तथा पोषण कार्यक्रम अन्तर्गत आधुनिक भकारो/खोर निर्माण कार्य गरिनेछ ।
२९. कृषकको मागमा आधारित कृषि चौतारी तालिमको व्यवस्था गरिनेछ ।
३०. पशुपंन्छिमा आकष्मिक माहामारी जन्य रोगको नियन्त्रणका लागि आवश्यक खोप, उपचार, परामर्श क्वारेनटाइन/आईसुलेशन जस्ता कार्यक्रम मझबुत तरिकाले गरिनेछ ।
३१. व्यवसायिक बाख्रापालन गर्ने फर्म/सहकारी लाई नश्च शुधारको लागि व्याड बोका वितरण गर्ने कार्य गरिनेछ ।
३२. जेनेटिक (बंसाणुगत रोग सम्बन्धि सचेतना कार्यक्रम बिभिन्न संघ/संस्था/विद्यालय/नगरिक समाज/समुह तथा प्रतिनिधिहरुलई स्वास्थ्य संस्था संगको संमन्यमा सचेतना कार्यक्रम (तालिम/गोष्टि) सञ्चालन गरिनेछ ।
३३. संघ, प्रदेश र स्थानीय सरकारको कार्यक्रममा संघ/संस्था/सहकारी/समुह तथा फर्महरुमा सहकार्य, सहअस्थित्व, समन्वय जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
ग. पूर्वाधार बिकासतर्फ
सडकतर्फ
३४. दग्दी कुलुङखोला, दोभान बडहर भन्ज्याङ हुदै किहु जोडने पक्की ग्रामीण सडक निर्माणका लागि प्रदेश सरकार र यस कार्यालयको साझेदारीमा निरन्तरता दिइनेछ ।
३५. सवारी साधनमा नियमितता ल्याउन क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने तथा मादक पदार्थको प्रयोगबाट हुने दुर्घटनामा कमी ल्याउन सुरक्षा संयन्त्रको समन्वयमा आवश्यक कारबाही गर्ने नीति अवलम्बन गरिने छ ।
३६. हरिनास गाउँपालिकाको केन्द्र देखि सबै वडा कार्यालयहरु सम्म बाह्रै महिना सडक संचालन हुन सक्ने व्यवस्था मिलाइने छ ।
भवन निर्माण
३७. गाउँपालिकाको प्रशासकीय भवनको निर्माणको लागि आ.व. २०८१/०८२ मा ठेक्का भएको पालिका भवन आगामी आ.व. २०८२/०८३ मा भवन निर्माणको कार्य सम्पन्न गरिनेछ। त्यस्तै गरी आफ्नै भवन नभएका वडा नं. ६ को पक्की भवन निर्माण गरिनेछ र बाँकी स्वास्थ्य इकाईको भवन निर्माणको व्यवस्था क्रमश मिलाइने छ। निर्माण सम्पन्न भएका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरुमा फर्निचर लगातयका आवश्यक इन्टेरियरको व्यवस्था गरिनेछ ।
३८. भवन निर्माण आचार संहिता बमोजिम घर नक्सा पास गरि मात्र भवन निर्माण गर्ने व्यवस्था मिलाइनेछ । स्वीकृत मापदण्ड विपरीत निर्माण कार्य गरिएका संरचनालाई बिशेष व्यवस्था सहित कानुनी दायरामा ल्याई त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ । ६०/४० योजना अन्तर्गत सामुदायिक भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
खानेपानी तथा सरसफाइ
३९. खानेपानी आयोजनाहरूमा अपनत्व बोध गराउन खानेपानी आयोजनाहरूमा अनिवार्य मर्मत संभार कोष स्थापना गरिने छ र जसका लागि अनिवार्य पानी महसुलको सुरूवात गरी समितिको कोषमा जम्मा गर्ने व्यवस्था मिलाईनेछ ।
४०. स्वच्छ पिउने पानीलाई उच्च प्राथमिकता राखी भएका स्रोतहरुको अधिकतम प्रयोग र समानुपातिक वितरणमा जोड दिई श्रोतको अनुपातमा धाराहरुको व्यवस्था गरिनेछ ।
४१. "एक घर एक धारा" अभियानलाई ७०/३० कार्यक्रम अन्तर्गत निरन्तरता दिइने छ।
४२. खानेपानी सम्बन्धी सञ्चालित योजनाहरुमा कार्यरत ज्यामीहरुलाई विज्ञहरुबाट क्षमता विकास सम्बन्धी कार्य गरिनेछ। लिफ्टिंग मार्फत खानेपानीको व्यवस्था भएका ठाउँमा विद्युत महशुलमा प्रदेश सरकार र संघ सरकारको साझेदारीमा बिशेष व्यवस्था मिलाइनेछ ।
घ. आवास तथा पुनर्निर्माण एकीकृत वस्ति विकास
४३. गाउँपालिकामा भूमिहीन घरबार बिहिनहरुका लागि व्यवस्थित बसोबासको व्यवस्था मिलाउन जनता आवास कार्यक्रम, खरको छानो विस्थापित कार्यक्रमहरु स्थानीय सरकार, संघ र प्रदेश सरकार सँगको समन्वयमा बसोबासका कार्यक्रमहरु अगाडी बढाइनेछ । भूमीहिन, सकुम्बासी तथा अव्यवस्थित वसोवास गर्नेहरुको समस्या समाधान गर्न जग्गाधनी प्रमाणपत्र प्राप्तीका लागि सहजिकरण गरिनेछ ।
४४. चालु आ.वमा १०० घर धुरीमा खरको छानो विस्तापनको लागि कार्यविधि तय गरी कार्यन्वयन कै क्रममा रहेकाले सो कार्यक्रमलाई यस आ.व.मा पनि निरन्तरता दिइनेछ ।
४५. अति गरिबको रेखा मुनी रहेका व्यक्तिलाई निःशुल्क सुरक्षित आवासको लागि उपयुक्त कानुन बनाइ सहयोगका कार्यक्रम संचालन गरिनेछ ।
ङ. उर्जा
४६. यस गाँउपालिकालाई उज्यालो गाउँपालिका बनाउनका लागी बिद्युत सेवा नपुगेका बस्तीलाई प्राथमिकताका साथ अगाडि बढाइ बिजुली बत्ति विस्तार यस आ.व. मा नै सम्पन्न गरिएको छ र आवश्यकता आधारमा निरन्तरता दिइनेछ ।
४७. पालिका अन्तरगतका कार्यालय स्वास्थ्य केन्द्र, वडा कार्यालयमा बैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा जडानलाई प्राथमिकता दिइनेछ ।
४८. उर्जाको मुख्य स्रोतका रुपमा प्रयोग भएको दाउरा माथिको निर्भरतालाई कम गर्न वायोग्यास, सौर्य उर्जा जस्ता नविकरणिय उर्जामा लगानी विस्तार गरिने छ ।
च. उद्योग
४९. स्थानीय तहमा संचालित ठूला तथा साना उद्योग तथा व्यवसायलाई कानुनी दायरामा ल्याउन न्यून करको माध्यमबाट करको दायरा फराकिलो बनाई आन्तरिक आय संकलन गरिने छ ।
५०. उद्योग, वाणिज्य तथा व्यवसायसँग सरोकार हुने पक्षहरुको क्षमता अभिवृद्धि तथा सशक्तिकरण गरी साना तथा मझौला उद्योगहरुको विकास तथा विस्तार गरिनेछ ।
५१. मदिरा ब्रान्डिङको कार्यलाई कार्यविधि बनाइ व्यवस्थित गरिने नीति लिइनेछ।
छ. पर्यटन
५२. प्राकृतिक रुपले रमणिय स्थानमा रहेको यस गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरहरूको रुपमा रहेका यस क्षेत्रका पौराणिक मठ, मन्दिर र देवलहरुको संरक्षण गरी थप निर्माण कार्यमा जोड दिइ पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटकमैत्री संरचना निर्माण गरिनेछ ।
५३. गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकास, विस्तार र बजारीकरण गर्न पर्यटनसँग सरोकार राखे निकायहरु सँग समन्वय र साझेदारी गरिनेछ ।
ज. सामाजिक विकासतर्फ
५४. पालिका भित्रका सम्पूर्ण वालवालिकालाई तोकिए बमोजिमको खोप दिलाउनको लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था मिलाई खोप लगाएको सुनिश्चित गर्ने व्यवस्था मिलाईने छ र पूर्ण खोप सुनिश्चित गाउँपालिकालाइ निरन्तर कायम राख आवश्यक प्रवन्ध गरिनेछ ।
५५. गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल निर्माणका लागि निरन्तरता दिइनेछ। अस्पतालको सम्झौता बाहेकको रकम पालिकाले नै व्यहोर्ने र सोको लागि पहुँचमार्ग निर्माणको लागि समेत रकम व्यवस्थापन गरि आगामी आ.व. मा निर्माण कार्य सम्पन्न गरि सेवा शुभारम्भ गर्ने प्रयास गरिनेछ ।
५६. हरिनास गाउँपालिका भित्रका स्वास्थ्य संस्थाबाटप्रदान गरिने सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटलाइज गरिनेछ। कागजको प्रयोगलाई पूर्ण तय विस्तापित गर्ने नीति अवलम्वन गरिनेछ । अवश्यक उपकरणको व्यवस्थापन गरिनेछ। सोका लागि आवश्यक वैकल्पिक उर्जाका स्रोतहरुको व्यवस्था मिलाईनेछ ।
५७. स्वास्थ्य संस्थाको व्यवस्थापकीय कार्यलाई चुस्त दुरुस्त राखि रहन "म स्वस्थ मेरो गाउँ स्वस्थ" कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५८. स्वास्थ्य चौकीमा संचालनमा रहेका प्रयोगशालालाई थप सुदृढ र विश्वश्निय बनाइनेछ । व्यवस्थापकीय सुधारको लागि आवश्यक नीति लिइनेछ ।
५९. पोषणको अवस्थालाई सुधार ल्याउन र संचालित कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ र वृद्धि अनुगमनलाई आवश्यक पर्ने आधुनिक औजार उपकरणको व्यवस्था मिलाइनेछ। “स्वस्थ बच्चा प्रतिष्पर्धा सासु ससुरा श्रीमान सम्मान" जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६०. स्वास्थ्य संस्थालाई प्रदान गरिदै आएको व्यवस्थापन खर्चलाई निरन्तरता दिइनेछ ।
६१. प्रत्येक ६ महिनामा हरिनास गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीहरुलाई जुकाको औषधी नियमित खुवाउने कार्यलाई निरन्तरता दिइनेछ।
६२. वर्ष भरिमा तोकीय बमोजिम १०-१९ बर्षका किशोरीहरुलाई iron folic acid खुवाने कार्यलाई निरन्तरता दिइनेछ ।
६३. विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
६४. पूर्ण पोषण युक्त स्वास्थ्य संस्था हुँदै पालिका घोषणा गरिनेछ ।
६५. सबै स्वास्थ्य चौकी र स्वास्थ्य इकाइमा निःशुल्क औषधीहरु नियमित रुपमा उपलब्ध भइराखेको छ। यसको सुनिश्चितताको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
६६. विभिन्न संघ संस्थाहरु मिलेर स्वास्थ्य शिविरहरु संचालन गरि निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ। चालु आवमा प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय स्वास्थ्य कार्यालय, स्याङ्गजा र हरिनास गाउँपालिकाको सहकार्यमा क्याक्मी स्वास्थ्य चौकी र मग्याम चिसापानी स्वास्थ्य चौकीमा क्षयरोग स्क्रिनिंग VIA Screening शिबिर संचालन गरिसकिएको छ र यसलाई निरन्तरता दिइनेछ।
६७. फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिंग महिनाको रुपमा मनाइनेछ ।
६८. सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न "सुत्केरीसँग उपाध्यक्ष पोषण कार्यक्रम" मार्फत आवश्यक व्यवस्था मिलाइने छ। स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई प्रोत्साहनको व्यवस्था गर्ने गरि नीति लिइनेछ ।
६९. प्रजनन स्वास्थ्यलाई विशेष रुपमा सुरक्षित गर्भपतन लगायतका सेवालाई सुरक्षित सर्वसुलभ र पहुँच योग्य बनाउन र सेवाकेन्दको संख्यालाई थप गर्न दक्ष जनशक्तिको व्यवस्थापन तथा तालिम तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमलाई विशेष ध्यान दिइनेछ ।
७०. भवन निर्माण गर्न बाँकी रहेका स्वास्थ्य इकाई/स्वास्थ्य केन्द्र देउराली र प्यार्सिंग सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण क्रमशः गरिनेछ ।
७१. स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सेवा संचालनमा रहेकोमा आवश्यकताको आधारमा अन्य सामुदायिक स्वास्थ्य इकाईमा क्रमिक रुपमा प्रयोगशाला सेवा विस्तार गरिनेछ ।
७२. पोषणको अवस्थामा सुधार ल्याउन पोषण विशेष कार्यक्रम संचालन गरिनेछ ।
७३. गाउँपालिका भित्र रहेका खोप केन्द्रको भवन क्रमशः निर्माण निर्माण गरि सुरक्षित खोप सेवा प्रदानको व्यवस्थालाई विशेष ध्यान दिइनेछ ।
७४. घरमा हुने सुत्केरीलाई निरुत्साहित गरिने छ र शून्य घर सुत्केरीको अवस्थालाई अभियानका रुपमा अगाडि सारिने छ।
७५. क्रमश सवै स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री स्वास्थ्य सेवा युक्त घोषणा गरिनेछ ।
७६. स्तनपान कक्ष स्थापना, स्तरउन्नतिलाई निरन्तरता दिइनेछ ।
७७. स्वास्थ्य संस्था तथा स्वास्थ्य शाखाको औषधी भण्डारण कक्षलाई थप व्यवस्थित गरिनेछ ।
७८. स्वास्थ्य कर्मीको क्षमता विकासको लागि विशेष जोड दिइनेछ ।
७९. राम्रो काम गर्नेलाई पुरस्कृत गरिने नीति लिइनेछ।
८०. मानसिक स्वास्थ्यको क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिनेछ। निरन्तर औषधी सेवन गर्ने विपन्नलाई विशेष कार्यक्रम ल्याइनेछ ।
८१. गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने नीति लिइनेछ ।
८२. संघ र प्रदेश सँगको सहकार्यमा स्वास्थ्य विमा कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाईनेछ ।
८३. क्यान्सर, मुटु, मृगौला, सिकल सेल एनिमिया, स्पाइन इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरी लगायतको उपचारको लागि अति गरिब विरामीलाई आर्थिक सहयोग गर्ने नीति लिइनेछ। साथै गाउँपालिकाको तर्फबाट बिभिन्न रोगका लागि आर्थिक सहायता आवश्यक पर्ने नागरिकलाई केहि मात्रामा भएपनि आर्थिक सहायता उपलब्ध गराउने नीति लिइनेछ ।
८४. अति विपन्न र गरिविको रेखा मुनि रहेका गरिव परिचय पत्र प्राप्त व्यक्तिहरु र "ग" र "घ" वर्गका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
८५. स्वास्थ्य चौकी नभएका वडामा स्थापना भएका सामुदायिक स्वास्थ्य इकाईलाई क्रमशः स्वास्थ्य चौकीमा स्तरउन्ति गर्दै लगिनेछ।
८६. यस गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाको कार्यको सम्मान गर्दै पालिकाबाट यातायात खर्च स्वरुप प्रोत्साहन गर्ने नीति लिइने छ । साथै अध्ययन अवलोकन भ्रमणको व्यवस्था मिलाइनेछ ।
८७. बिभिन्न रोगका कारण हुन् सक्ने महामारी जन्य समस्यालाई सम्बोधन गर्नको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
८८. स्थापना भएका स्वास्थ्य संस्थाको आन्तरिक व्यवस्थापनको र सवलिकरणलाई लागि आवश्यक पर्ने भौतिक तथा वित्तीय श्रोतको व्यवस्था पालिकाबाट गर्ने नीति लिइनेछ ।
८९. स्वास्थ्य सस्थाको अभिलेख तथा प्रतिबेदनलाई चुस्त दुरुस्त बनाउन सफ्टवयर प्रणाली EHMIS, ELMIS, PRTP पारिवारिक स्वास्थ्य प्रोफाइल SORMAS लागायतका मार्फत गर्ने कार्यको व्यवस्था मिलाइनेछ ।
९०. सवै स्वास्थ्य संस्थामा गाउँपालिकाबाट स्वीकृत दरवन्दी अनुसारको कर्मचारीको व्यवस्था गरिनेछ ।
९१. नमुना स्वास्थ्य संस्था कार्यक्रमलाई अगाडि बढाइनेछ ।
९२. आयुर्वेदिक औषधालयको स्थापनामा विशेष जोड दिइनेछ । योग शिक्षा योग अभ्यास स्वास्थ्य परामर्श स्वास्थ्य खानपान र स्वास्थ्य जीवन शैली सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
९३. गाउँपालिका स्तरको अस्पताल संचालन गरी सो अस्पतालबाट स्वास्थ्य बिमा र मृगौलाको समस्याका कारण डायलाइसिसको व्यवस्थापनलाई बिशेष प्राथमिकताका साथ अगाडि वढाइनेछ ।
९४. विपन्न तथा गरिव दिर्घ रोगीहरुलाई औषधी उपलब्धताको लागि व्यवस्थापन गर्ने नीति लिइनेछ ।
९५. खानेपानीको योजना निर्माण संगै गुणस्तरलाई पनि ध्यान दिइनेछ साथै पानीको नमुना परिक्षण गरी त्यसको आधारमा आवश्यक नीति लिइनेछ ।
९६. वृद्धवृद्धा तथा जेष्ठ नागरिकलाई घर दैलोमा स्वास्थ्य सेवाको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
९७. स्वास्थ्य क्षेत्रको विपद व्यवस्थापन र यसको न्युनिकरणको लागि प्रतिकार्य योजना निर्माण गरी लागु गरिनेछ ।
९८. स्वास्थ्य कार्यक्रमको सम्बन्धमा मुख्य सरोकारवाला सेवा प्रदायक सेवाग्राही र व्यवस्थापक विचमा प्रदान भई रहेको सेवाको गुणस्तर र आगामी दिनमा गुणस्तर कायम गर्न छलफल अन्तरक्रिया जस्ता कार्यक्रम संचालन गरिनेछ ।
९९. पालिका भित्रका विपन्नलाई स्वास्थ्य जनशक्ति अध्ययनको लागि प्रोत्साह दिने नीति लिइनेछ ।
१००. स्वास्थ्य अनुसन्धान कार्यलाई प्रोत्साहान गर्न अनुदान दिने नीति लिइनेछ ।
१०१. स्वास्थ्यकर्मीहरु, सा.म.स्वा.स्व. से तथा नीतिनिर्माताहरुलाई थप उत्प्रेरणा दिलाउन तथा व्यवहारिक ज्ञानहरु आदान-प्रदान गर्न केही नमुना स्वास्थ्य संस्थाहरुको कार्यहरु हेर्ने अवसरको लागि अन्तर-पालिका, अन्तर-प्रदेश भ्रमण गर्ने कार्यक्रमहरु राखिनेछ ।
१०२. स्वास्थ्य संस्थाहरुमा फोहोरको उचित व्यवस्थापन गर्नको लागि फोहोरको वर्गिकरण गरी उचित व्यवस्थापन गर्ने आवश्यक साधन श्रोतको र बजेटको सुनिश्चितता गरिनेछ ।
झ. शिक्षा
१०३. "हरिनास बासीको इच्छा प्रविधिमैत्री र गुणस्तरिय शिक्षा" लाई आत्मसाथ गर्दै गाउँपालिकाका सबै विद्यालयहरुमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने नीति लागू गरिनेछ ।
१०४. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण बढाउन बालमैत्री, उद्यान पार्क र आधारभूत शैक्षिक पूर्वाधारहरुको निर्माण, मर्मत संभार, संचालन र व्यवस्थापनमा जोड दिइनेछ।
१०५. यस गाउँपालिका भित्र मा.वि. र आधारभूत विद्यालय गरी जम्मा ३१ वटा विद्यालय रहेकोमा कतिपय विद्यालयमा विद्यार्थी शिक्षकको अनुपात घटी बढी भएको अवस्था विद्यमान छ सो अवस्थामा विद्यार्थी र शिक्षकको अनुपात मिलाइ शिक्षक दरबन्दी मिलानमा जोड दिइनेछ ।
१०६. शिक्षकहरुलाई समय सापेक्ष र नविनतम सिकाईका विधिहरु बारे जानकारी गराउन विषयगत तालिम र प्रशिक्षणको व्यवस्था गरी शिक्षकहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गरिनेछ ।
१०७. प्रधानाद्यापक, शिक्षक, जनप्रतिनिधि लगायतलाई नमुना विद्यालयमा शैक्षिक अवलोकनको व्यवस्था मिलाइनेछ ।
१०८. विद्यालयमा शैक्षिक सुधार तथा मानसिक स्वास्थ्यका लागि योग तथा ध्यान कार्यक्रम संचालन गरिनेछ ।
१०९. माध्यमिक विद्यालयहरुको भौतिक सुरक्षाका लागि घेराबार निर्माण गरिनेछ ।
११०. विद्यालय तथा विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउदै लगिनेछ ।
ञ. सरसफाइ तथा स्वच्छता
१११. हरिनास गाउँपालिका भित्रको फोहर मैला व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, पनुः प्रयोग र पुनः चक्रण र विसर्जन गर्ने नीति लिइने छ ।
११२. गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुमा सार्वजनिक शौचालय, खानेपानी र सुरक्षाको व्यवस्था मिलाईनेछ ।
११३. "वातावरणमैत्री गाउँपालिका" निर्माण गर्न हरित सडक, हरित पार्क, In-situ र Ex-situ कार्यक्रमलाई जोड दिइनेछ ।
११४. “एक घर एक चर्पी" कार्यक्रम अनुरुप हरेक घरमा सफा चर्पी निर्माणमा जोड दिइ पानी जन्य सरुवा रोग नियन्त्रणमा आवश्यक कार्यक्रम अगाडि बढाइने छ।
गाउँसभाका सदस्यज्यूहरु,
ट. समावेशीकरण
११५. महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्न सामुदायिक विकासका कार्यहरुमा समान सहभागिताको लागि उपयुक्त वातावरण प्रदान गरिनेछ ।
११६. महिलालाई सीप र रोजगारीमा समान अवसर उपलब्ध गराई समान कामको लागि समान पारिश्रमिक सुनिश्चतता गरिनेछ ।
११७. महिला, दलित, आदिवासी, जनजाति, लोपान्मुख तथा सिमान्तकृत वर्गको क्षमता अभिवृद्धि र सशक्तिकरणका कार्यक्रमहरु लागू गरिनेछ। परम्परागत पेशाहरुको आधुनिकिकरण गर्दै आय आर्जनतर्फ उन्मुख गर्ने कार्यक्रम लागू गरिने छ।
११८. जातीय भेदभाव कसुर सजाय ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न पालिकाबाट विशेष व्यवस्था गरिनेछ ।
११९. हरेक वडामा दलितहरुको सामूहिक आय आर्जनको कार्यक्रममा जोड दिँदै दलित तथा सिमान्तकृत बालबालिकाको निःशुल्क शिक्षाको ग्यारेन्टी गरिनेछ ।
१२०. एकल पुरुष भत्ता निर्देशिका अनुसार एकल पुरुष भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ठ. बालबालिका, युवा तथा खेलकुद
१२१. वालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
१२२. हरेक वडामा बहुउदेश्यीय खेलमैदानको निर्माण गरी बालबालिका तथा युवाहरुलाई विभिन्न विधाको खेलकुदमा आकर्षण गराइनेछ। परिमार्जन सहित खेलकुदका प्रतियोगिताको विधाहरु थपेर राष्ट्रपति रनिङ्ग शिल्ड र अध्यक्ष कप प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
१२३. "सकारात्मक सोच र उर्जाशिल युवा हाम्रो चाहना कुलत रहित स्वस्थ युवा हरिनासको गहना" भन्ने नाराका साथ कुलतमा परेका युवाहरुका लागि विशेष कार्यक्रम संचालन गरी युवाहरुलाई सीपमूलक तालिम सञ्चालनको व्यवस्था गरिनेछ ।
१२४. सबै विद्यालयहरुमा राजनैतिक कार्यक्रमहरुलाई निरुत्साहित गरिनेछ। शहीद वेपत्ताका छोराछोरीहरु, बाबुआमा गुमाएका टुहुरा बालबालिकाहरु संरक्षण गर्दै उनीहरुलाई विद्यालय सम्म ल्याउने, टिकाउने, पढाउने र सिकाउने नीति मिलाइने छ ।
१२५. हरिनास गाउँपालिका भित्रका बसोबास गर्ने दलित, आदिवासि, जनजाति, अल्पसंख्यक, अपाङ्ग, महिला, विपन्न खसआर्यहरुलाई लक्षित गर्दै सरकारी सेवामा प्रवेश गर्ने चाहनेहरुका लागि निःशुल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने नीति लिईनेछ ।
१२६. बिद्यालय तथा वडा स्तरमा वाल क्लबहरु गठन गरि पालिकास्तरीय वाल संजाल निर्माण गरिनेछ ।
ड. सार्वजनिक निजी साझेदारी कार्यक्रम
१२७. सरकारी तथा निजी क्षेत्रको सहभागितामा भौतिक पूर्वाधारको विकास गर्न "सार्वजनिक-निजी साझेदारी" को अवधारणलाई प्रोत्साहित गरिनेछ ।
१२८. साना पूर्वाधार निर्माणका लागि प्रोत्साहन गर्न गैर सरकारी क्षेत्र वा अन्य क्षेत्रबाट समेत लगानी गरेकोमा समपुरक कोषबाट केही रकम गाउँपालिकाले व्यहोर्ने गरी साझेदारी कार्यक्रम अगाडि बढाइनेछ ।
१२९. सहकारी, संघ संस्थाहरुलाई सहकारी मुल्य मान्यताको सिद्धान्तमा संचालन गर्न सहकारी तालिम र कोपोमिस तालिम आयोजना गरिनेछ ।
ढ. वन वातावरण
१३०. वन क्षेत्रको सदुपयोग गरी समुदायको दिगो आम्दानीको श्रोतको विकास गर्न आफ्नै निजी खाली रहेका जग्गाहरुमा उपयुक्त भौगोलिक वातावरण अनुकूल हुने गरी जडीबुटी, गैर काष्ठ वन पैदावारहरुको खेती विस्तार गरिनेछ ।
१३१. खानी जन्य कच्चा पदार्थ उत्खनन गर्नका लागि EIA र IEE अध्ययन गरि व्यवस्थापन गरिनेछ ।
१३२. गाउँपालिका अन्तर्गत रहेका बन क्षेत्र लगायत सबै स्थानका सार्वजनिक जग्गाहरुको अतिक्रमण र अवैध उपभोगलाई रोक्नका लागि सरोकार निकायसँग समन्वय गरिनेछ ।
१३३. गाउँपालिका भित्र हुने सबै खालका विकास निर्माणकार्यहरु गर्दा वातावरणिय पक्षलाई विशेष ध्यान दिइनेछ ।
ण. सूचना प्रविधि
१३४. सूचना सम्प्रेषणलाई विश्वसनीय र मर्यादित बनाउन संचार संस्था तथा संचारकर्मीहरूसँग सहकार्य गरिनेछ ।
१३५. सञ्चारक्षेत्रमा क्रियाशिल सार्वजनिक संघ-संस्थाहरुको संरचनागत एवं व्यवस्थापकीय सुधारमा सहकार्य गरिनेछ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास र सम्बृद्धिमा टेवा पुर्याउने खालका कार्यक्रम उत्पादन प्रसारण गर्न जोड दिइनेछ ।
१३६. सामुदायिक विद्यालयहरुमा टेलिफोन, इन्टरनेटको क्रमिक रुपमा विस्तार गरिनेछ ।
त. सुशासन सेवा प्रवाह र जनशक्ति विकास
१३७. जनताका पिरमर्का र गुनासा सुन्नका लागि "जनतासँग जनप्रतिनिधि" कार्यक्रम सञ्चालन गरिनेछ ।
१३८. गाउँपालिकाका सबै कार्यालयहरुलाई इन्टरनेटका माध्यमबाट सबै वडाहरु, स्वास्थ्य चौकी. सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवाको प्रारम्भ गरिने छ ।
१३९. गाउँपालिका भित्र भ्रष्टाचारमा शून्य सहनशीलता नीति लिइनेछ। उच्च कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गर्न प्राविधिक र अप्राविधिक तर्फका कर्मचारीको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तालाई परिमार्जन सहित निरन्तरता दिइनेछ ।
१४०. गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने प्रणालीको विकास गरिनेछ। साथै पर्यटन प्रवर्द्धनका लागी कर्मचारीहरुलाई वार्षिक १० दिनको भ्रमण खर्च उपलब्ध गराउने गरी अवलोकन भ्रमणको व्यवस्था मिलाइनेछ ।
१४१. सार्वजनिक सेवा प्रवाहमा मितव्ययी र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न कर्मचारीहरुको क्षमता विकास र सशक्तिकरण गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिममा सहभागी गराउने नीति लिईनेछ ।
१४२. सार्वजनिक खर्चको वित्तीय जवाफदेहिता सुनिश्चित गर्दै आन्तरिक खर्चलाई चुस्त बनाइनेछ र कार्यालयबाट हुने सबै भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाइनेछ। त्यसै गरी गाउँपालिका अध्यक्षले वडाध्यक्ष सँग र प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुखसँग मापन योग्य सूचकहरुसहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धित पदाधिकारीहरुलाई नतिजा प्रति थप जबाफदेही बनाइनेछ ।
१४३. आगामी आर्थिक वर्ष २०८२/८३ देखि कार्यालयको सम्पत्ती व्यवस्थापनलाई प्रभावकारी वनाउन सार्वजानिक सम्पत्ती व्यवस्थापन प्रणाली (PAMS) अनिवार्य लागु गरिनेछ।
थ. राजस्व प्रशासन
१४४. गाउँपालिकाले हाल लिदै आएको कर, राजस्व, शुल्क, दस्तुर आदिलाई थप व्यवस्थित र नियमन गरिनेछ। हाम्रो गाउँपालिका "हाम्रो कर समृद्ध बनाउने हाम्रै रहर” भन्ने नारालाई साकार पार्न राजस्वको आन्तरिक श्रोतको दायरालाई फराकिलो बनाइनेछ। टोल टोलमा कर मैत्री प्रशासनको अभियान सञ्चालन गरिनेछ ।
द. न्यायिक समिति
१४५. विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाइनेछ । हरेक वडामा मेलमिलाप मार्फत विवाद समाधान गर्न मेलमिलाप केन्द्र स्थापना गरिनेछ ।
१४६. न्यायिक समितिको क्षमता अभिवृद्धिको लागि कानूनी सचेतना र कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रमको व्यवस्था मिलाइनेछ ।
ध. विपद व्यवस्थापन
१४७. स्थानीय स्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्सांकन तथा वस्तीहरुको पहिचान गरि स्थानान्तरण गरिनेछ । विपद् व्यवस्थापनका लागि वडा- वडामा विपद् व्यवस्थापन समिति गठन गरिनेछ । विपद् जोखिम न्यूनिकरण गर्न विपद् व्यवस्थापन कोष निर्माण गरी कार्यविधिअनुसार संचालन गरिनेछ ।
न. विविध
१४८. विकासको मूल प्रवाहमा समावेश नभएका योजनालाई "जनतासँग अध्यक्ष कार्यक्रम" मार्फत संचालन हुने योजना तथा कार्यक्रमहरुको योजना बैक तयार गरि योजना बैकमा समावेश भएका योजनाहरुको प्राथामिकताको आधारमा बजेट व्यवस्थापन गरिनेछ ।
१४९. असल अभ्यास आदान प्रदानका लागि कर्मचारी र जनप्रतिनिधि सहित अन्तर पालिका समन्वयात्मक कार्यक्रम संचालन गरिनेछ ।
१५०. प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि गाउँपालिकाबाट साझेदारीका लागि बजेट व्यवस्थापन गरिनेछ ।
१५१. अति विपन्न घरपरिवारको जीवनयापनका लागि न्यूनतम आर्थिक सहयोग उपलब्ध गराइने छ।
१५२. गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमलाई थप प्रभावकारी रुपमा विस्तार गरिदै लगिनेछ । साथै तालिम प्राप्त दक्ष व्यक्तिलाई अनुदानमा उपकरणहरु उपलब्ध गराइने छ।
१५३. कार्यालयको आवश्यकता अनुसार विज्ञबाट सेवा परामर्श लिइने कार्य गरिनेछ ।
१५४. हाल सम्म फरफारक भएका योजनाहरुलाई गाउँसभा बाट अनुमोदन गर्ने साथै चालु अवस्थामा रहेका तपशसिल बमोजिमका योजनाहरुको म्याद थप गरि आगामी आ.व मा क्रमशः भुक्तानी गरिनेछ ।
१५५. रुग्ण र कार्यसंचालन अवस्थामा नरहेका ठेक्का अन्तर्गतका योजनाहरुको ठक्का सम्झौता रद्ध गरी कालो सूचीमा राखे प्रक्रिया अगाडी बढाइनेछ ।
१५६. संचालित ठेक्का अन्तर्गतका योजनाहरुको म्याद सकिएको भएमा आवश्यकता अनुसार म्याद थप गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
१५७. यी नीति तथा कार्यक्रमको कार्यन्वयन गरी समृद्ध हरिनास, सुखी हरिनासवासी को गन्तव्यमा पुगी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रबिन्दु आम नागरिक हुनेछन्। सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ ।
अन्त्यमा,
स्थानीय तहको समग्र विकास, सुशासन र समृद्धिका लागि यस नीति तथा कार्यक्रमले अंगिकार गरेका विषयहरुको कार्यान्वयन महत्वपूर्ण हुनेछ । नेपालको संविधानले आत्मसाथ गरेका मान्यता र परिकल्पना राष्ट्रिय योजना आयोगले तयार पारेको सोह्रौं योजना, दिगो विकासको लक्ष्य, गण्डकी प्रदेशको दोस्रो आवधिक योजना, हरिनास गाउँपालिकाका आम जनसमुदायबाट प्रकट भएका भावनाहरुलाई यस नीति तथा कार्यक्रमले समेटेको छ। आगामी बजेटबाट नीति तथा कार्यक्रममा व्यक्त प्रतिबद्धतालाई सम्बोधन हुने विश्वास लिएको छु। यो नीति तथा कार्यक्रम स्वच्छ, सुखी र समुन्नत स्थानीय तहको खाका सहित कार्यान्वयन योग्य दस्तावेजको रुपमा रहेको छ। नीति तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय सरकारलाई सबै क्षेत्रबाट भरपूर सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। साथै नीति तथा कार्यक्रमका लागी सुझाव दिनु हुने र तर्जुमाको कार्यमा संलग्न हुनुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद
खिमनारायण मान्नधर
अध्यक्ष
हरिनास गाउपालिका, स्याङजा
मितिः २०८२/०३/०४”